© २०२३
नेपालगञ्ज, ९ असोज ।
दसैं नजिकिँदै जाँदा नेपालगञ्जका बजारमा अपेक्षित चहलपहल नदेखिए पनि सीमावर्ती भारतीय बजार रुपईडिहामा भने किनमेल गर्ने उपभोक्ताको थेगिनसक्नु भीड छ ।
पर्व लक्षित कपडा, खाद्यान्नदेखि घरायसी सामानसम्मका थोक र खुद्रा पसलमा उपभोक्ताको घुइँचो देखिन्छ । नेपालगञ्जको बजारमा छिटफुट ग्राहक मात्र देखिँदा रुपईडिहाको बजार भने खचाखच छ ।
नेपालगञ्ज वडा नं ६ १ की धनमाया थापाले भनिन्, “नेपालगञ्जमा सामान महँगो छ, रुपईडिहामा अलि सस्तो पाइन्छ । त्यसैले हामी यता किनमेल गर्न आएका हौँ ।” तर उनले रुपईडिहाका व्यापारीले सरकारले तोकेको जस्तो विधिवत् बिल नदिने, सादा रसिद दिने गरेको गुनासो पनि गरिन् ।
यस्तै, वडा नं. ८ की अनिता अमिशा खड्काले दशैंका लागि लुगा किन्दा नेपालभन्दा रुपैडिहामा पनि यसपटक दाम बढेको बताइन् । “चाडपर्वको बेला भारतीय व्यापारी पनि फाइदा उठाएर ग्राहक ठग्छन्,” उनले भनिन् ।
कोहलपुर मदनचोकका श्याम घर्तिले भने तुलनात्मक रूपमा रुपैडिहा अझै सस्तो देखिएको बताए । “नेपालका बजारमा चाडपर्व लागेपछि भाउ हदभन्दा बढी बढ्छ । रुपैडिहामा पनि बढ्छ, तर नेपालभन्दा अलि कम पर्छ,” उनको भनाइ छ । तर, रुपईडिहाबाट सामान ल्याउँदा अर्को समस्या भोग्नुपर्ने उपभोक्ताको गुनासो छ । घर्तीले भने, “भारतीय प्रहरीले केही भन्दैन, तर नेपाल भित्रिँदा जमुनाहास्थित प्रहरीले धेरै केरकार गर्छ ।”
यसैबीच, खजुरा गाउँपालिका ६ का हिमेश केसीले नेपालमा चाडपर्वको मुखैमा आएर मात्र अनुगमन गर्ने सरकारी प्रवृत्तिको आलोचना गरे । “नेपालगञ्ज, कोहलपुर र खजुराका बजारमा अहिले सामानको भाउ छोइनसक्नु छ । तर प्रशासन र सम्बन्धित निकाय चुपचाप छन्,” उनले भने । केसीले हालैको जेन–जी आन्दोलनपछि देश महँगीले थप थिचिएको उल्लेख गर्दै चाडपर्वमा मूल्य नियन्त्रण नगरे नेपालका बजारहरु सुक्दै जाने बताए ।