© २०२३
नेपालगञ्ज, ९ असोज ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । शाखाको नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालयमा बुधबार आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उक्त वेबसाइटको शुभारम्भ गरिएको हो ।
बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको उद्घाटन गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
बाँके शाखाले सम्भवत लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट सञ्चालन गरेर अब्बलता देखाएको उल्लेख गर्दै चौलागाईले यसलाई निरन्तर अद्यावधिक राख्न आग्रह गरे । उनले भने, “बाँके शाखाले सिर्जनात्मक र उत्कृष्ट गतिविधिहरू गर्दै आएको छ ।
साधारण सदस्यता नवीकरण विवरण पठाउने सन्दर्भमा पनि बाँके पहिलो भएको छ ।” चौलागाईले पत्रकारिताप्रतिको विश्वासलाई मजबुत बनाउन पत्रकारहरू अझै गम्भीर, इमानदार र कर्मशील बन्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले वेबसाइट सञ्चालनसँगै शाखाले डिजिटलाइजेशनलाई प्रवद्र्धन गरेको बताए । उनले भने, “शाखाको आन्तरिक जीवन र गतिविधिलाई डिजिटल र पारदर्शी बनाउन वेबसाइट सञ्चालन गरिएको हो । साधारण सदस्यहरूको विवरण पनि यसैमा राखिनेछ ।”
गिरीका अनुसार, वेबसाइटमार्फत बाँकेको पत्रकारितालाई सत्कर्म र सत्अभ्यासको आधारमा नमुनायोग्य बनाउन सकिनेछ र यसका लागि प्रत्येक पत्रकारले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेछ ।
वेबसाइटको डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा समावेश गरिएका फिचरहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
उनले बताए अनुसार, अहिले सुरुवातमा वेबसाइट सञ्चालन भए पनि डेटा अपडेट गर्ने काम जारी छ र यसलाई अझ उन्नत बनाउन निरन्तर काम भइरहेको छ । कार्यक्रममा सहभागी अतिथिहरूले एकअर्कासँग शुभकामना आदानप्रदान गर्दै नजिकिएका चाडपर्वहरूले समाजमा सत्प्रेरणा, सकारात्मक सोच र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरे ।
तर, उनीहरूले पछिल्लो समय समाजमा नकारात्मक सोच र वातावरण बढिरहेको भन्दै चिन्ता पनि प्रकट गरे । नेपाल पत्रकार महासंघ बाँके शाखाको आधिकारिक वेबसाइट www.fnjnepalbanke.org.np हो ।