© २०२३
काठमाडौं ।
श्रीलङ्कामा हुने १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपका लागि नेपाली टोली तयारीमा जुटेको छ । आउँदो कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा १९ वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप आयोजना हुँदै छ ।
नेपाल भलिबल संघले प्रतियोगिताका लागि गएको भदौ ६ र ७ गते दुई दिने छनोट गरेर प्रारम्भिक टोली चयन गरेको थियो । प्रशिक्षक कुमार राईको नेतृत्वमा १८ जना खेलाडी प्रशिक्षणमा सहभागी छन् ।
माल्दिभ्सको मालेमा सम्पन्न अघिल्लो संस्करणमा पाँच टोली सहभागी भएका थिए । सो प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । यसपटक टोलीमा केही अनुभवी खेलाडीसमेत रहेका कारण तुलनात्मक रूपमा राम्रो नतिजाको अपेक्षा गरिएको प्रशिक्षक राईले बताए ।
उनका अनुसार टोलीले हाल डिफेन्स र अट्याकमा विशेष ध्यान दिँदै छ । खेलाडीहरूले जोन–जोनमा प्रभावकारी प्रहार गर्न सकून् भन्ने उद्देश्यले सर्भिस अभ्यासमा विशेष समय दिइएको र प्रशिक्षण दैनिक रूपमा तीव्र बनाइएको उनले जानकारी दिए ।
टोलीमा भावना तामाङ, नामसरा राना, प्रतिभा चौधरी, निसा महर, मीना चौधरी, अनुस्का कार्की, एन्जिला प्रधान, रूपा लम्साल, जेनिसा विश्वकर्मा, मीना सुनार, आशिका क्षेत्री, क्रिस्मा डाँगी, सम्झना नेपाली, अनिसा थारु, सुनिता खत्री, रेविका लामा तामाङ, विनिता राना र प्रशंसा बौडेल रहेका छन् ।
यसैबीच, नेपाली राष्ट्रिय पुरुष टोली पनि काभा भलिबल नेशन्स लिगको तयारीमा जुटिरहेको छ । पुरुष काभा नेशन्स लिग आउँदो कात्तिक ५ देखि ११ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने तय भएको छ ।
नेपाली पुरुष टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किन लागेको हो । सन् २०२३ मा चीनमा सम्पन्न १९औं एशियन गेम्स र सोही वर्ष श्रीलङ्कामा सम्पन्न काभा च्यालेन्ज कपपछि नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।