© २०२३
चितवन, ८ असोज ।
लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरो हटाउने काम रोकिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा ठूलो पहिरो खस्दा मंगलबार अपराह्नदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बुधबार बिहान साढे ६ बजेदेखि चारवटा डोजर तथा अन्य मेसिन प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिएको थियो । तर, फेरि वर्षा सुरु भएपछि काम रोक्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास जारी रहे पनि पहिरो खस्न नरोकेका कारण समस्या थपिएको हो । तुइन खोलाको भीर नै सडकमा भासिएकोले पहिरो हटाउन समय लाग्ने देखिएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ आउँदै गरेका सवारी साधन तथा यात्रुहरू सडकमै अलपत्र परेका छन् । त्यस्तै, नारायणगढबाट काठमाडौं वा पोखरातर्फ जान लागेकाहरू पनि सडकमा रोकिएका छन् ।
दशैंको मुखमा काठमाडौं जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएपछि यात्रुहरूले अत्यधिक सास्ती भोग्नु परेको छ । लगातार पहिरो खसिरहेको अवस्था रहेकाले प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।