© २०२३
गुल्मी, ८ असोज ।
जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत इलाका प्रहरी कार्यालय रिडीमा “प्रहरी पुस्तकालय” स्थापना गरिएको छ ।
“नव–प्रवर्तनीय कार्यक्रम” अन्तर्गत स्थापना गरिएको उक्त पुस्तकालयको मंगलबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले शुभारम्भ गरेका हुन् ।
प्रहरीको कार्यकुशलता, अध्ययनशीलता र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छन् ।
प्रहरी पुस्तकालयको लागि आर्थिक वर्ष २०८१/८२ को बजेटबाट फर्निचर तथा पूर्वाधार निर्माण गरिएको थियो ।
रुरु क्षेत्र गाउँपालिका, छत्रकोट, सत्यवती र काली गण्डकी, गाउँपालिकाको सहयोगमा उक्त पुस्तकालय स्थापना गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
पुस्तकालयमा विभिन्न कानुनी, धार्मिक, साहित्यिक गरी ७०० भन्दा बढी पुस्तकहरू सङ्ग्रह गरिएको छ । शाहीले आगामी दिनमा आवश्यक पुस्तकहरू थप गर्दै लैजाने योजना रहेको जनाएका छन् ।
कार्यक्रममा पुस्तकालयको उद्घाटन गर्दै प्रहरी उपरीक्षक अधिकारीले पुस्तकालयको स्थापनाबाट प्रहरी सङ्गठनमा अध्ययन गर्ने बानीको विकास हुनुका साथै नागरिकप्रति उत्तरदायी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
उनले प्रहरी कर्मचारीहरूलाई फुर्सदको समयमा अध्ययनको अवसर प्रदान गर्ने र व्यावसायिक दक्षता अभिवृद्धिमा पुस्तकालय उपयोगी हुने बताएका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक अधिकारीले प्रहरी अधिकृत, हवलदार तथा प्रहरी जवानहरूलाई शुभकामना व्यक्त गर्दै चाडबाडको समयमा उत्पन्न हुनसक्ने घटनाप्रति सजगता अपनाउँदै नागरिकको सुरक्षाका लागि सधैँ चनाखो भएर काम गर्न मातहतलाई निर्देशन समेत दिएका थिए ।