© २०२३
आजभन्दा १८ वर्ष अगाडिको एउटा अकल्पनीय घटना सम्झिँदा कपिलवस्तुको चन्द्रौटा क्षेत्रका नागरिकको मन अझै पनि भक्कानिन्छ । त्यो घटना इतिहासमा विस्मृत भैसकेको छ तर त्यसले दिएको पीडा र रोदनले कपिलवस्तुलाई नराम्रोसँग अहिले पनि पीडा दिँदै आएको छ ।
किनभने पीडित परिवारले न्याय पाएका छैनन् । सरकारले दिने भनेको क्षतिपूर्तिको कुरा इतिहास वनेको छ । पीडित र प्रभावित परिवार अहिले पनि क्षतिपूर्तिको आशामा बाँचेका छन् । त्यो घटनाले अहिले पनि कपिलवस्तुका आम नागरिकमा त्रास र भय उत्पन्न गराउने गरेको छ ।
विगतका कुनै कुनै घटना यस्ता हुन्छन् जो सधैभरी मानसपटलमा जरो गाडेर बसेका हुन्छन् । त्यो बीभत्स र कहालीलाग्दो घटनाको खास गरी चनौटा र त्यस वरपरका क्षेत्रका जनताले बिर्सने प्रयास गरे पनि सकिरहेका छैनन् । र, अबका दिनमा त्यस प्रकारका घटना नदोहोरिउन् भन्नेतर्फ सजगता अपनाउन प्रहरी प्रशासनको ध्यानाकर्षण पनि गराउँदै आएका छन् ।
१८ वर्ष अघि भएको नरसंहार र भौतिक क्षतिबाट त्यस क्षेत्रका जनताले अझै पनि त्राण पाएका छैनन् । कपिलवस्तु घटना पीडितहरूले भदौ ३० लाई विगत १८ वर्षदेखि कालो दिनको रूपमा स्मरण गर्दै आएका छन् । विडम्बना के छ भने त्यो घटनाका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
सरकारले त्यस बेला बनाएको विभिन्न छानबिन समितिले क्षतिपूर्तिका लागि सिफारिस गरे पनि अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् । पीडित परिवारका लागि क्षतिपूर्ति दिने कुरा अहिलेसम्म आकाशको फल आँखा तरी मर भएको छ ।
घटनाका पीडितहरूले अहिलेसम्म न न्याय पाएका छन् न त क्षतिपूर्ति नै । २०६४ साल भदौ ३० गते अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको चन्द्रौटा नजिक कुदरबेटवाका तत्कालीन तराई/मधेश लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा समाजसेवी अब्दुल मोइद खाँको मृत्यु भएको थियो ।
खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किदा १४ जनाको बीभत्स हत्या हुनुका साथै पाँच हजार बढी मानिस विस्थापित भएका थिए । उक्त घटनामा सात सय बढी पसल, घर टहरामा लुटपाट र आगजनी भएको थियो भने तीन सय बढी सवारी साधनमा आगजनी भएको थियो ।
करिब एक सातासम्म चलेको उक्त हिंसामा साबिकका १२ गाविसका तीन हजार बढी घरटहरा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कपिलवस्तु घटना पीडितहरूले आफ्ना मागहरू कुनै पनि सरकारले सम्बोधन गर्न नचाहेको गुनासो गर्दै आएका छन् ।
अहिले सम्झिँदा आश्चर्य जस्तो लाग्ने उक्त घटना इतिहासको नमिठो साक्षी बनेको छ । अबको दिनमा त्यो घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ सचेत हुनु जरुरी छ । अवाञ्छित तत्त्वले प्रतिकूल समयको खोजी गरेर फेरी पनि त्यस प्रकारका घटना दोहो¥याउन सक्छ ।
तसर्थ १८ वर्षअघिको भदौ ३० सकिए पनि त्यसले दिने पीडा र घटनाबाट पाठ सिक्दै समाजलाई उन्नत बनाउनेतर्फ सबैको पहल र प्रयास आवश्यक छ । कपिलवस्तुका जनताले भदौ ३० को दिनलाई कालो दिन मान्दै आएका छन् ।
उक्त घटनाको लामो कालखण्ड पार भएको छ । घटनाका पीडितहरूले अव न्यायको आशा मारिसकेका छन् । घटना भएको १८ वर्षसम्म पनि न्याय नपाउनु, पीडितका आवाज नसुनिनुले के प्रमाणित गर्छ भने कुनै पनि सरकार जनताको पीडामा मलहम लगाउन तयार छैनन् ।
घटनापछि धेरै सरकार गठन र विघटन भए तर कुनै पनि सरकारले पीडितको माग सम्बोधन गरेन् । अहिले त्यो घटना इतिहास बनेको छ । त्यसयता जन्मिएका तिनका सन्तानले त्यो घटना अहिले एकादेशको कथाका रूपमा सुन्ने गरेका छन् । इतिहासका ती कठोर घटनाबाट पाठ सिक्नु जरुरी छ ।
अहिले देशमा नयाँ सरकार बनेको छ । १८ वर्षअघिको त्यो घटनाका पीडितलाई न्याय दिने काम सरकारले गरोस् । घटनामा सर्वस्व गुमाएका पीडितलाई ढिलै भए पनि क्षतिपूर्ति दिने काम होस् ।