Butwal Today

नारायणगढ–मुग्लिन सडकखण्ड भोलि दिउँसोसम्म खुल्न सक्ने

८ आश्विन २०८२, बुधबार
अ+
अ-

चितवन, ८ असोज ।

नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको ठूलो पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर पहिरो ठूलो भएकाले सडक आज पूर्ण रूपमा खुल्ने सम्भावना छैन । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार निरन्तर काम भएमा भोलि दिउँसोसम्म सडक खुल्न सक्ने सम्भावना छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार करिब १२–१४ हजार घन मिटर ढुङ्गा र माटो सडकमा थुप्रिएको छ । माथिबाट ठूलो पहिरो झर्ने सम्भावना कम भए पनि बेला बेलामा ढुङ्गा खस्ने भएकाले सफा गर्ने काम जोखिमपूर्ण छ । प्राकृतिक विपद्को यस अवस्थामा कार्यालयले सबैलाई धैर्यता अपनाउन आग्रह गरेको छ ।

पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । मुग्लिन बजारबाट करिब दुई किलोमिटर पूर्वस्थित इच्छाकामना–६ तुइन खोला पुल नजिक हिजो बेलुका खसेको पहिरोले गाडी आवतजावत पूर्ण रूपमा रोकिएको छ ।