© 2026
चितवन, ८ असोज ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक खसेको ठूलो सुख्खा पहिरो हटाउने काम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सात बजेदेखि चारवटा मेसिन प्रयोग गरी काम थालिएको भए पनि पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने सम्भावना छ ।
सडक अवरुद्ध भएकाले गाडीको आवागमन पूर्णरूपमा बन्द छ । चितवन प्रशासनले यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । चितवनबाट काठमाडौँ जाने साना गाडी जुटपानी–मायाटार हुँदै मलेखु निस्कन सक्नेछन् भने ठूला गाडीका लागि हेटौंडा–कान्ति लोकपथमार्ग प्रयोग गर्न सुझाइएको छ । पोखरा र पश्चिमतर्फ जाने गाडीलाई बुटवल हुँदै आवतजावत गर्न भनिएको छ ।
मुग्लिन–नारायणगढ सडकमा लगातार पहिरो खस्दा यात्रु र चालकहरू दिनदिनै समस्यामा परिरहेका छन् ।