© २०२३
काठमाडौँ ।
रुस–युक्रेन मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरेको धारणा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि ‘ठूलो परिवर्तन’ भएको छ । यसअघि युद्धविरामका लागि युक्रेनले आफ्ना केही भूभाग त्याग्नुपर्ने बताएका ट्रम्पले अहिले भने आफ्नो धारणा फेर्दै रुसलाई ‘कागजी बाघ’ को संज्ञा दिएका छन् । साथै, उनले युक्रेनले गुमाएको भूमि फिर्ता लिन सक्ने उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अब अमेरिका युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन इच्छुक देखिएको बताएका छन् । जब पत्रकारहरूले ग्यारेन्टी कस्तो हुन्छ भनेर सोधे, उनले भने, “म झुट बोल्न चाहन्नँ । हामीसँग अहिले कुनै ठोस जानकारी छैन ।”
यद्यपि उनले युक्रेनले थप हतियार, वायु रक्षा प्रणाली र ड्रोन प्राप्त गर्ने सम्भावना रहेको जनाए ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पको धारणा परिवर्तनको कारणका रूपमा राष्ट्रपति पुटिनले ट्रम्पलाई बारम्बार झुट बोलेको हुनसक्ने बताएका छन् ।
यसअघि मंगलबार, संयुक्त राष्ट्रसंघमा आफ्नो भाषणपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने रुसी विमानहरूलाई गोली हान्नुपर्ने धारणा व्यक्त गरेका थिए । हालसालै नेटोको हवाई क्षेत्रमा रुसी लडाकु विमान र ड्रोनहरू देखिएका छन् ।