© २०२३
काठमान्डौ, ८ असोज ।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले यूएईमा कार्यरत नेपालीहरूलाई स्थानीय कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
पछिल्लो समययता यूएईमा नेपाली श्रमिकहरू श्रम, बैंकिङ, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम उल्लंघन तथा स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न हुने घटनाहरू बढेपछि दूतावासले उक्त चेतावनी जारी गरेको हो ।
दूतावासले ११ बुँदामा सावधानी अपनाउन नेपाली श्रमिकहरूलाई अनुरोध गरेको छ । प्रमुख बुँदाहरूमा स्थानीय श्रम कानुन र नियमको पालना, रोजगारदाता छोडेर भाग्न नपर्ने, वैधानिक सम्झौता मिच्ने कार्य नगर्ने, ट्राफिक नियम पालन गर्ने, आवासीय परिचयपत्र सधैं साथ राख्ने, अनुशासित र इमानदार व्यवहार कायम राख्ने, पासपोर्ट वा बैंकिङ कागजात अरूलाई नदिनु, सामाजिक सञ्जालमा अनुचित पोस्ट नगर्नु, अनधिकृत संस्था वा समूह गठन नगर्नु र सांस्कृतिक तथा धार्मिक कार्यक्रम दूतावासलाई पूर्वजानकारी दिएर मात्र सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
दूतावासले नियम उल्लंघन गर्नेहरू कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ ।
यूएई नेपाली श्रमिकहरूको प्रमुख रोजगार गन्तव्य हो । हाल यूएईमा करिब ८ लाख नेपाली कार्यरत छन् भने गत वर्ष मात्र २ लाख ६४ हजार नेपाली यूएई गएका थिए ।