© २०२३
गुल्मी, ०८ असोज ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले बाली बस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकामा बाख्रा पालन कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।
लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मी मार्फत छत्रकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
जिल्लामा पशुपालन व्यवसायतर्फ यसको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकहरूको आय स्तरमा वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले बताए । सोही कार्यक्रम अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकाका ५ बरडाँडामा बाख्रा पालन कार्यक्रम लागू गरिएको हो ।
उक्त कार्यक्रमको लागि २५ लाख रूपैंया बजेट विनियोजन गरी कृषकहरूलाई बाख्रा पालनको लागि खोर निर्माणदेखि बीउ बाख्रा समेत उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिका–५ बरडाँडा स्थित लाखुरीरुख पशुपन्छी पालन समूह मार्फत बाख्रा पालन कार्यक्रम शुरु गरिएको हो ।
कार्यालयले भौतिक पूर्वाधार र मेसिनरी औजार खरिदमा ७५ प्रतिशत अनुदान सहयोग गरेको जनाएको छ । कार्यक्रममा नश्ल सुधार, पोषण आहार, क्षमता विकास र पशु स्वास्थ्य उपचार लगायतको कामका लागि शतप्रतिशत अनुदान सहयोग गरिएको विज्ञ केन्द्रका प्रमुख पाण्डेयले जानकारी दिए ।
समूह मार्फत २४ वटा नयाँ बाख्राको खोर निर्माण, २ वटा प्रजननको लागि उन्नत बोका खरिद, ६ वटा च्याप कटर खरिद तथा ढुवानी, ६ वटा कम्बाइन मिल खरिद तथा ढुवानी, घाँसको बिउ तथा बेर्ना समेत खरिद गरिएको थियो । त्यसै गरी औषधी खरिद तथा बाख्रा पालन सम्बन्धी कृषकहरूलाई तालिम समेत उपलब्ध गराइएको छ ।
उक्त समूहमा हाल तीन सय ६० वटा बाख्रा रहेका छन् । कार्यक्रमबाट बरडाँडामा ४० घर परिवार लाभान्वित भएका छन् । समूह मार्फत वार्षिक रूपमा कम्तीमा पनि एक सय खसी बोका बिक्री गरी कृषकहरूको आम्दानी बढाउने लक्ष्य राखिएको केन्द्रले जनाएको छ । कार्यक्रमले समूहमा आबद्ध किसानहरू खुसी भएका छन् ।
कृषकहरूले आगामी दिनमा थप कार्यक्रमको माग गर्दै विद्युतको समस्याका कारण चाँपकटर मेसिन चलाउन समस्या परेको लाखुरीरुख पशुपन्छी पालन समूहकी उपाध्यक्ष शान्ता बुचाले बताएकी छन् ।
छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले पालिकाबाट पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउँदै लैजाने बताएका छन् ।