© २०२३
नेपालगञ्ज, ८ असोज ।
बाँकेको डुडुवा गाउँपालिकामा लगाइएको तालाबन्दी नखुल्दा अत्यावश्यक सेवा ठप्प भएको छ । गत भदौ २५ गते साँझ करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अज्ञात समूहले गाउँपालिकाको कागजात निकालेर आगजनी गरेको थियो ।
त्यसपछि अर्को समूह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनभित्र आवत–जावत गर्दै नगर प्रहरीलाई धम्की दिएको थियो । त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्वय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०–३२ जनाको समूह गाउँपालिकाभित्र प्रवेश गरी कोठामा लागेको ताला फोड्दै भिडियो खिच्दै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ ।
उनीहरूबाट कोठामा के–कति क्षति भयो भन्ने कुरा भने एकिन हुन सकेको छैन । तालाबन्दी गरिएको दुई हप्ता बितिसक्दा गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही गर्न र तालाबन्दी खोलेर कामकाज सुचारु गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गरे पनि अहिलेसम्म कुनै पहल नभएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीमार्फत मुचुल्का तयार गरी कामकाज गर्ने वातावरण मिलाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए । उनका अनुसार हालै सम्पन्न कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र शिवकुमार मौर्य सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दशैंको मुखमा आएर कर्मचारीलाई तलब दिन नसकिएको दुःख व्यक्त गरे । उनका अनुसार गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा पनि ठप्प भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नलाई कानूनी कारबाही गर्न र तालाबन्दी खोलेर कामकाज सुचारु गराउन वातावरण नबनाए शुक्रबारदेखि नेपालगञ्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडाअध्यक्षसहित अन्य सरोकारवालाको उपस्थिति थियो ।