© २०२३
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना गर्यो। मुलुकमा व्याप्त भ्रष्टाचार, सार्वजनिक सेवा प्रवाहमा रहेको बेथिति तथा नेताहरूको कार्यशैली र जीवनशैलीप्रतिको आक्रोश जेन–जेड आन्दोलनमार्फत मुखरित भयो। आन्दोलनका क्रममा पहिलो दिन १९ जनाको मृत्यु भयो भने ४०० भन्दा बढी युवाहरू घाइते भए। स्कुल ड्रेसमा रहेका विद्यार्थीको हत्याले सारा नेपालीलाई भावविह्वल बनायो। त्यसै क्रममा घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीको राजीनामा आयो। तर यसले पनि नेपाली जनताको आक्रोशलाई शान्त पार्न सकेन र ठूलो विद्रोहको सूत्रपात गर्यो।
अर्को दिन वातावरण भयावह बन्यो। देशका विभिन्न शहरमा आन्दोलन चर्किंदै जाँदा परिस्थिति नियन्त्रण बाहिर जान थाल्यो। परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको राजीनामा आयो तर पनि आन्दोलन थामिएन। आन्दोलनमा व्यापक घुसपैठ भयो र आन्दोलनले हिंसात्मक मोड लिन थाल्यो। हेर्दा हेर्दै संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार, शीतलनिवास लगायत देशका हजारौं सरकारी तथा सार्वजनिक सम्पत्ति, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको घर तथा सम्पत्ति ध्वस्त पार्ने काम गरियो। जताततै तोडफोड, आगजनी र लुटपाट मच्चाइयो। दशौँ हजार कैदीलाई जेलबाट भगाइयो। नेता–कार्यकर्तामाथि भौतिक आक्रमण भए। प्रहरी र सर्वसाधारण मारिए। यसरी भ्रष्टाचार र बेथिति विरुद्ध सुरु भएको आन्दोलनले ३६ घण्टा बित्दा नबित्दै राज्यसत्ता कब्जा गर्नु आफैंमा एउटा अभूतपूर्व घटनाक्रम थियो। तर आन्दोलनका नाममा भएको घुसपैठ र त्यसले निम्त्याएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम पनि बनायो। यद्यपि भदौ २४ गते राति सेना परिचालन गरेसँगै हिंसात्मक गतिविधि कम हुन थाल्यो। २५ गतेबाट आन्दोलनरत पक्ष, सेना र राष्ट्रपतिकाबीचमा छलफल सुरु भयो। आन्दोलनरत पक्षको माग बमोजिम राष्ट्रपतिबाट सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्री घोषित गरियो र २०८२ फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा सहित संसद् विघटन गरियो।
यस प्रकारको ऐतिहासिक घटनाक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तरंग पैदा गरेको छ। नेपालका राजनीतिक दलहरू लगायत समाजका सबै अवयवमा यसको प्रभाव देखा परेको छ। विशेष गरेर यो घटनाक्रमले नेकपा एमालेलाई असामान्य मोडमा खडा गरेको छ। सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएको कारणले गर्दा पनि जेन–जेड आन्दोलन नेकपा एमाले र त्यसको नेतृत्व विरुद्ध केन्द्रित हुन पुग्यो। आन्दोलनका दौरानमा व्यक्त भएका आक्रोश र आरोप मूलतः एमाले लक्षित थियो।
– आखिर किन यस्तो परिस्थितिको निर्माण भयो त ?
-किन सबैभन्दा बढी प्रहार नेकपा एमालेलाई गरियो त ?
-के नेकपा एमाले र त्यसको नेतृत्वले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि लिएको कदमका विरुद्ध -देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुको चलखेल प्रमुख कारण थियो त ?
-वा नेपाली समाजको मनोविज्ञान र जनताको चाहनालाई सही ढंगले बुझेर तदनुसारको व्यवहार गर्ने काममा एमाले चुक्यो त ?
भनेर उठेका यस्ता प्रश्नहरू आज नेकपा एमालेका लागि सर्वाधिक महत्वपूर्ण विषय बनेका छन्।
हो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कामको अगुवाइ गर्दा विदेशी शक्तिहरू एमालेका विरुद्ध लागेका थिए। जेन–जेड आन्दोलनमा ती शक्तिहरू सक्रिय पनि भए। तर विदेशी शक्तिकै कारणले मात्रै नेकपा एमाले विरुद्ध यति धेरै आक्रोश र प्रहार भएको भने होइन। होला, बाहिरी कारणले पनि यो परिस्थितिको सिर्जना गर्न मद्दत गर्यो होला, तर त्योभन्दा बढी हाम्रो आफ्नै आन्तरिक कारण रहन गयो। त्यसैले आज नेपालका राजनीतिक दलहरूले गरेका गल्ती र कमजोरीको निर्मम समीक्षा गरी त्यसलाई आत्मसात् गर्नु अपरिहार्य छ।
विशेष गरेर मुलुकमा व्याप्त भ्रष्टाचारले नेपाली जनता लामो समयदेखि आक्रान्त थिए। नियमितजसो आउने नीतिगत तथा सानातिना भ्रष्टाचारका समाचारले नेपाली जनतामा ठूलो आक्रोश पैदा भइरहेको थियो। समाजमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्ने, भ्रष्टाचारका आरोपीहरूलाई निष्पक्ष ढंगले अनुसन्धान गरी कानूनको दायरामा ल्याउने र सुशासनको प्रत्याभूति दिने काममा सरकारको कमजोरी रह्यो। कतिपय अवस्थामा एमाले नै भ्रष्टाचारको संरक्षक हो कि भन्ने भाव नेपाली जनतामा पर्न गयो। अपारदर्शी ढंगले भएका कतिपय नियुक्ति र त्यसमा बिचौलियाको चलखेलका समाचारले समेत जनतामा आक्रोश पैदा गर्यो।
सार्वजनिक सेवा प्रवाहमा कुनै प्रकारको परिवर्तन आउन सकेन। एकजना सेवाग्राही सेवा लिन जाँदा उसले भोग्नुपर्ने झन्झट, सास्ती र दुर्व्यवहारले उसमा राजनीतिक दल र नेतृत्वविरुद्ध आक्रोश सिर्जना गर्यो। कार्यालयमा जाँदा कर्मचारीले गर्ने व्यवहारले आफूलाई अपमानित भएको महसुस गर्दै फेरि कहिल्यै जान नपरे हुन्थ्यो भन्ने मनोभाव जाग्न थाल्यो। सेवा लिनका लागि समेत घुस बुझाउनुपर्ने बाध्यता हुँदा जनतामा व्यापक निराशा र आक्रोश पैदा भयो।
त्यसैगरी राष्ट्रिय पुँजीको विकास गर्दै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने काम हुन नसक्दा लाखौं युवाहरू विदेशिन बाध्य भए। नेपालमा बेरोजगारको संख्या बढ्दै जाँदा र पर्याप्त अवसरको अभाव हुँदा युवाहरूमा निराशा छायो। युवा पुस्ताको मनोविज्ञान के छ र उसले के चाहन्छ भन्ने कुराको यकिन गरी तदनुसारको व्यवहार गर्ने काममा कमजोरी रह्यो।
अर्कोतर्फ जनताले मन पराएका व्यक्तिहरूसँग पैठेजोरी खेल्ने र तिनीहरूका विरुद्ध तथानाम बोल्दा एमालेको नेतृत्वप्रति वितृष्णा पैदा हुन थाल्यो। त्यस्तैगरी पार्टीका नेता तथा कार्यकर्ताको नोकरशाही कार्यशैली र सामन्ती जीवनशैलीले पनि जनतामा व्यापक निराशा पैदा गर्यो। जनतासँगको सम्बन्ध र व्यवहारमा कमजोरी भयो। जनताको सुख–दुःखको साथी बन्नेभन्दा पनि भड्किलो जीवनशैली अपनाउने प्रवृत्ति देखियो। अर्कोतर्फ पुराना राजनीतिक दलहरूमा लामो समयदेखि एउटै व्यक्ति नेतृत्वमा रहिरहने प्रवृत्तिले जनता आक्रोशित भए। २०४६ देखि अहिलेसम्म एउटै व्यक्तिले पटक–पटक पद र अवसर प्राप्त गर्ने तर अपेक्षा गरेजस्तो परिवर्तनको महसुस जनताले गर्न नपाउँदा नेतृत्वप्रति वितृष्णा पैदा भयो। अन्ततः यी सबै कारणले जेन–जेड आन्दोलनको पृष्ठभूमि निर्माण भयो।
त्यसो भए, के नेकपा एमालेले नेपाली समाजको अग्रगामी परिवर्तनका लागि कुनै योगदान गरेको थिएन त? त्यो कदापि होइन। किनभने नेपालको लोकतान्त्रिक आन्दोलनमा नेकपा एमालेले निर्वाह गरेको भूमिका कसैले चाहेर पनि नजरअन्दाज गर्न सक्दैन। समाजको प्रगतिशील रूपान्तरणका लागि भएका विभिन्न आन्दोलनमा नेकपा एमालेको निर्णायक भूमिका थियो। विदेशी हस्तक्षेप र घरेलु प्रतिक्रियावादी शक्तिलाई निस्तेज पार्दै संविधानसभाबाट संविधान निर्माण गर्ने काममा एमालेको नेतृत्वदायी भूमिका थियो।
अर्कोतर्फ, सदियौँदेखि मिलेर बस्दै आएको नेपाली समाजमा जातीय द्वन्द्व सिर्जना गरी मुलुकलाई विखण्डनको बाटोमा लैजाने षड्यन्त्रहरूको बहादुरीपूर्वक सामना गर्दै त्यसलाई निस्तेज पार्ने कामको अगुवाइ एमालेले गरेको थियो। नाकाबन्दीको सामना गर्ने तथा पारवहन सन्धीमार्फत भू–पेरिएको मुलुकबाट नेपाललाई भू–जडित राष्ट्र बनाउने कामको नेतृत्व समेत एमालेले गरेको थियो। लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन गर्ने तथा विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कामको अगुवाइ समेत एमालेले गर्दै आएको थियो । दशकौं देखि मूर्छित अवस्थामा रहेको नेपाली जनताको विकास र समृद्धिको चाहनालाई मुखरित गर्ने कामको अगुवाई एमालेले गरेको थियो । सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियान अन्र्तगत सयौं गौरवका आयोजनाहरु र हजारौं महत्वपूर्ण योजनाहरु तिव्र गतिमा अगाडि बढाउने काम पनि एमालेको अगुवाईमा भईरहेको थियो ।
४. अब यसरी अगाडि बढौं
यसरी नेपालको इतिहासमा लामो समयसम्म प्रभाव पार्ने काम नेकपा एमालेले गर्दै आईरहेको भएता पनि विदेशी शक्तिहरुको हस्तक्षेपले मात्र नभई नेपालका राजनितिक दलहरुबाट भएका गल्ती र कमजोरीका कारणले गर्दा आजको परिस्थति निर्माण हुन पुग्यो । अब यो परिवर्तित परिस्थितिमा नेकपा एमाले कसरी अगाडि बढ्छ भन्ने एमालेका लागि सर्वाधिक महत्वको विषय रहेको छ । नेपाली जनताको अपार माया र स्नेहका कारणले देशको सबैभन्दा बढी लोकप्रिय पार्टीको रुपमा स्थापित भएको एमालेले आज जुन प्रकारको असहज परिस्थितिको सामना गर्नुपरेको छ, त्यसबाट अगाडि बढ्न त्यति नै मेहनत गर्नुपर्ने छ ।
भएका गल्ती र कमजोरी स्विकार गर्दै आत्मालोचना गरौ
त्यसका लागि सबैभन्दा पहिले भएका गल्ती र कमजोरीको निर्मम समिक्षा गर्दै आत्मालोचना गर्नुपर्नेछ । गल्ती स्विकार नगर्दा अर्को दुर्घटना निश्चितप्राय छ । भएका गल्ती र कमजोरी स्विकार गर्दा मात्रै अगाडिको मार्गचित्र स्पष्ट हुनेछ । त्यसैले हामीबाट यो यो गल्ती भयो भन्ने विषय निक्यौल गर्दै त्यसलाई आत्मसाथ गरौं ।
राम्रा कामलाई पुजीकृत गरौं
दोस्रो, हामीले गरेका राम्रा कामहरुप्रति गर्व गर्दै त्यसलाई पार्टीको सम्पतिको रुपमा पुजीकृत गरौ ।
पार्टी संगठन पुनर्गठन गरौ
तेस्रो, राष्ट्रिय महाधिवेशन आयोजना गरौँ र सबै तहका पार्टी कमिटी तथा जनसंगठनको पुनर्गठन गरौँ। अग्रजहरूले गरेको बलिदान, संघर्ष र योगदानको उच्च प्रशंसा र सम्मान गरौँ। उहाँहरूलाई अभिभावकको भूमिका प्रदान गर्दै नेतृत्व पुस्तान्तरण गरौँ। पटक–पटक अवसर प्राप्त गरेका तथा कार्यकर्ता र जनताबाट अस्वीकृत व्यक्तिलाई विदा गरौँ। जनताले मन पराएका, कार्यकर्ताको बीचमा लोकप्रिय, गुटगत गतिविधिलाई निस्तेज गर्दै समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, स्पष्ट वैचारिक दृष्टिकोण भएको कुशल सङ्गठकलाई नेतृत्वमा स्थापित गरौँ। राजनितिक स्थिरताको प्रत्याभुति गरौ, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखौं
चौथो, आज राष्ट्रिय राजनीतिमा देखा परेका प्रमुख मुद्दाहरूको विषयमा हाम्रो स्पष्ट दृष्टिकोण अगाडि सारौँ। लामो समयदेखि राजनीतिक अस्थिरताको भुमरीमा फसेको नेपाललाई राजनीतिक स्थायित्व दिनुपर्नेछ। भू–राजनीतिक प्रभाव, जातीय तथा क्षेत्रीय विविधता, निर्वाचन प्रणाली र राजनीतिक शक्ति सन्तुलनलाई समेत मध्यनजर गर्दा अहिलेको संसदीय व्यवस्थाले राजनीतिक स्थायित्वको प्रत्याभूति गर्न सक्ने आधार देखिँदैन। त्यसैले शासकीय स्वरूपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जान आवश्यक देखिन्छ।
नेपालको भू–राजनीतिक संवेदनशीलता समेत मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सन्धी–सम्झौता तथा देशको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग सरोकार राख्ने विषयमा प्रतिनिधि सभाको दुई तिहाइ मतले पूर्व–स्वीकृति लिई निर्णय लिनुपर्ने प्रावधान राखी देश चलाउने कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रिय एकताको प्रतीकको रूपमा संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति रहने शासकीय स्वरूपले नेपालमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्नेछ।
हिजो संविधान निर्माण गर्ने बेलामा एमालेले अगाडि सारेको यो विचारलाई आत्मसात् गर्दै अपनत्व ग्रहण गर्नुपर्नेछ।
त्यस्तै, आज देशको आन्तरिक आम्दानीले चालु खर्च समेत धान्न नसकी वैदेशिक अनुदान र ऋणमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। अर्कोतर्फ पुँजीगत खर्चको स्थिति त झन् दयनीय छ। त्यसैले सार्वजनिक खर्च कटौती गरी विकास खर्च बढाउन नितान्त आवश्यक छ।
त्यसका लागि प्रदेश संरचना खारेज, जिल्ला समन्वय खारेज, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य संख्या कटौती, स्थानीय तह ४५० आसपास कायम तथा अनावश्यक आयोग र समिति खारेज गर्ने काम गर्नुपर्नेछ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिन शक्तिशाली आयोग निर्माण गरी छानबिन गर्ने र दोषीलाई सजाय दिने काम गर्नुपर्नेछ।
ज्वलन्त राष्ट्रिय मुद्दाहरूमा स्पष्ट धारणा बनाएर फागुनमा हुने निर्वाचनमा भाग लिने र संसदमार्फत संविधान संशोधन गर्नुपर्नेछ।
पाँचौँ, माथि उल्लेखित चारवटा कामहरू सम्पन्न गरी आत्मालोचना सहित जनताको बीचमा जानुपर्नेछ। भएका गल्ती र कमजोरीप्रति जनतासँग माफी मागौँ, हामीले गरेका राम्रा कामको जानकारी गराऔँ, हाम्रा आगामी एजेन्डा जनतालाई बुझाऔँ र अब हामी सच्चिएर यसरी अगाडि बढ्नेछौँ भनी जनतालाई हाम्रो व्यवहारबाट आश्वस्त पारौँ।
जनताको सुख–दुःखको साथी बनौँ। नेता–कार्यकर्ताको कार्यशैली र जीवनशैली जनमैत्री बनाऔँ। गुट–उपगुटलाई निस्तेज पारौँ। कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी र अवसर प्रदान गरौँ।
यसरी अगाडि बढ्दा मात्र नेकपा एमाले फेरि जनताको प्रिय पार्टी बन्नेछ।