© २०२३
काठमाडौं, ७ असोज ।
मंगलबार सेयर बजार २.२३ प्रतिशतले बढेको छ । ५८.६३ अंकले वृद्धि भई नेप्से २,६८२ विन्दुमा कायम भएको हो । बजार उकालो लागे पनि कारोबार रकम भने केही घटेको देखिएको छ । अघिल्लो दिन ९ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो ।
आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर घटेको छ । बजार खुलेदेखि दिनभर हरियै रह्यो ।
निर्जीवन बीमा समूह आज सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढ्यो । अघिल्लो कारोबार दिनमा यो समूह ४ प्रतिशतले घटेको थियो । भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय संरचना तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।
त्यही मौकामा लगानीकर्ता आज निर्जीवन बीमा समूहतर्फ आकर्षित देखिए । अहिलेसम्म निर्जीवन बीमा कम्पनीहरूमा करिब २२ अर्ब रुपैयाँ बराबरको बीमा दाबी माग गर्दै आवेदन परेको छ । नोक्सानी भएको सम्पत्तिको मूल्यांकनपछि मात्र बीमा भुक्तानी हुने भएकाले त्यसमा पुनर्बीमा मार्फत ठूलो रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।
अन्य उपसमूहहरू पनि आज वृद्धि भए । बैंकिङ समूह १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, जलविद्युत ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढेका छन् ।
८ कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढ्यो । ती कम्पनीहरूमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जाको नाम छन् । यसबाहेक, कालिका पावरको सेयर मूल्य ९.८४ प्रतिशत र सयपत्री हाइड्रोपावरको ९.८३ प्रतिशतले बढेको छ ।
आज मूल्य घट्ने कम्पनीहरूमध्ये अधिकांश ऋणपत्रहरू रहेका छन् । धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स परेका छन् ।