© २०२३
बुटवल, ७ असोज।
बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर दाङ जिल्लाको घोराही उपमहानगरपालिका–३, भानपुरमा स्थापना हुन लागेको संजीवनी शिक्षण अस्पतालको शुभसाइत कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। करिब ४ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको यो अस्पतालको स्थापना सँगै अब दाङ जिल्लासँगै राप्ती अञ्चलअन्तर्गत प्युठान, रोल्पा, पूर्व तथा पश्चिम रुकुम, सल्यान लगायतका जिल्लाका जनताहरू लाभान्वित हुने भएका छन्। यस अस्पतालले सञ्चालनमा आएपछि अब थप उपचार तथा विशिष्टिकृत सेवाका लागि विरामीहरूलाई रुपन्देही, बाँके वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
हाल ३०० शैयाबाट सेवा सुरु गर्न लागिएको यो अस्पताल आगामी तीन वर्षभित्र ५०० शैयामा विस्तार गर्ने लक्ष्यमा रहेको छ। अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीहरूले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियुजस्ता सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। साथै, यहाँ न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोलोजीजस्ता विशिष्टिकृत सेवा उपलब्ध गराइनेछ। मृगौलाका बिरामीहरूका लागि डायलासिस सेवा तथा मुटुसम्बन्धी समस्याका लागि अत्याधुनिक क्याथ ल्याबको व्यवस्था गरिनेछ। अस्पतालमा ५० शैयाको आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन हुनेछ।

यसका साथै अस्पतालमा बी श्रेणीको अत्याधुनिक प्रयोगशाला सेवा उपलब्ध हुने छ भने रेडियोलोजी विभागअन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजिटल एक्सरेजस्ता प्रविधिमार्फत सेवा प्रदान गरिनेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले सबै सेवा सुविधाहरू चाँडै पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिनुभएको छ।
झन्डै ५ विघा क्षेत्रफलमा फैलिएको अस्पताल तीन तले संरचनामा रहेका नौवटा भवनहरूबाट सञ्चालनमा ल्याइएको हो। अस्पताल सञ्चालक समितिका अध्यक्ष युवा उद्यमी खुमा प्रसाद अर्याल रहेका छन्। उहाँ युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र गण्डकी मेडिकल कलेज पोखरामा पनि साझेदार लगानीकर्ता हुनुहुन्छ। संजीवनी शिक्षण अस्पताल सञ्चालनसँगै यस क्षेत्रमा करिब ४ सयभन्दा बढी रोजगारी सिर्जना हुने छ। साथै, निकट भविष्यमा एमबिबिएस, बिडिएस, ल्याब, फार्मेसी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स लगायतका विषयमा चिकित्सा शिक्षा सञ्चालन गर्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ।
शुभसाइत कार्यक्रमकै अवसरमा अस्पतालले यस क्षेत्रका नागरिकहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको पनि शुभारम्भ गरेको छ। उक्त शिविरमा सहभागीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्शसँगै चेकजाँच, ल्याब सेवा, ईसीजी, भिडियो एक्सरे तथा औषधी सेवा प्राप्त गर्न सक्नेछन्।