© २०२३
काठमाडौं, ७ असोज ।
सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनको दमनमा संलग्न भएको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई उक्त जिम्मेवारी दिइएको हो ।
दंगाल यसअघि रक्षासचिवको जिम्मेवारीमा कार्यरत थिए । उनी गृह प्रशासनमै लामो समयदेखि कार्यरत रहँदै आएका ‘क्याडर’ अधिकारी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय चाँडै मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा ल्याइनेछ ।
यसअघि भिजिट भिसा प्रकरणमा नाम जोडिएको भए पनि पछि आरोपमुक्त भएका दुवाडी सरकारले परिवर्तन भएको झन्डै डेढ सातासम्म गृहसचिवको जिम्मेवारीमै थिए ।
जेनजी आन्दोलनको समयमा गृह प्रशासनको नेतृत्व गर्दै दमनमा सक्रिय भूमिका खेलेको आरोप लागिरहेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग तीव्र भइरहेका बेला सरकारले उनलाई हटाउने निर्णय गरेको हो । स्रोतका अनुसार, दुवाडीलाई अब योजना आयोगको सचिवालयमा जिम्मेवारी दिइनेछ ।