© २०२३
बुटवल, ०७ असोज ।
नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दसैँ–तिहार–छठ अफर २०८२ उपलब्ध गराएको छ।
सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन् ।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ । यसै गरी दसैँ–तिहार–छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।
फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रति दिन (फेयर युजेज पोलेसी) मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरूका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।