© २०२३
बुटवल, ८ असोज ।
४६औँ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीका होटल तथा रेस्टुरेन्ट व्यवसायीले विभिन्न कार्यक्रम गर्ने भएका छन् । संघमा आवद्ध व्यवसायीहरूको सहभागितामा बुटवलदेखि बेलहियासम्म “नेपाल सुरक्षित गन्तव्य“ भन्ने सन्देशसहित शान्तिपूर्ण मोटरसाइकल रयाली आयोजना गर्ने भएको छ ।
यसैगरि असोज ११ गतेदेखि १७ गते एक हप्तासम्म रुपन्देहीका होटलहरुमा लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने घोषणा समेत गरेका छन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष माधव खनालले बताए । पछिल्लो समयमा सामाजिक सञ्जालमा फैलिरहेका नकारात्मक समाचारलाई चिर्न र देशको पर्यटन छविलाई उकास्न कार्यक्रम गर्न लागिएको उनले बताए । बेलहिया सिमा हुदै नेपाल भित्रने पर्यटकलाई स्वागतसहित रयाली बुटवल फर्किने र बुटवलमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए ।
नेपाल पर्यटनका लागि स्वर्ग भएको दाबी गर्दै पर्यटन व्यवसायलाई अघि बढाउन सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याए । दिवसमा पर्यटनसंग सरोकारवाला संघसंस्थाहरुलाई समेत समन्वय गरेर कार्यक्रममा बढीभन्दा बढी सहभागिता गराईने पर्यटन उपाध्यक्ष तथा कार्यक्रमका संयोजक रोमाकान्त पाण्डेले बताए ।