© 2026
नवलपरासी, (पश्चिम्), ७ असोज ।
जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट नवलपरासीका सरकारी कार्यालयमा झन्डै १० करोडको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ ।
क्षतिको विवरण सङ्कलन गर्न गठन भएको क्षति मूल्याङ्कन समितिले स्थानीय तहबाहेक सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडबाट २ करोड ६५ लाखको क्षति भएको मूल्याङ्कन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले दिए ।
सरकारी कार्यालय र सार्वजनिक संस्थान गरी १३ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोडबाट २ करोड ६५ लाखको क्षति भएको मूल्याङ्कन गरिएको छ । जिल्लामा रहेका सात वटा पालिका मध्ये रामग्राम र प्रतापपुर गाउँपालिकाको विवरण आईनसकेको भण्डारीले उल्लेख गरे । ‘क्षती त यो भन्दा बढी नै भएको छ,यो त प्रारम्भिक मूल्याङ्कन हो’ भण्डारीले भने ।
स्थानीय तहमा झन्डै ७ करोड बढी क्षति भएको छ । पहिलो चरणमा सरकारी संरचनामा भएको क्षतिको विवरण सङ्कलन गरिएको हो । सरकारीभन्दा निजी र सङ्घ संस्थामा बढी क्षति भएको बताइएको छ ।
निजी र सङ्घ संस्थाको क्षति विवरण सम्बन्धित पीडितहरूसँगबाट निवेदन माग गरी सङ्कलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए । अहिले सम्म सबै भन्दा बढी क्षति बर्दघाट नगरपालिकामा भएको बताइएको छ ।