© 2026
बुटवल, ७ असोज ।
जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा सुरु भएको वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा वडा नं. ११ ले विजयी सुरुवात गरेको छ ।
देविनगरस्थित एन्फा खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं. ८ माथि ४–० को जित निकाल्दै वडा नं. ११ दोस्रो चरणमा प्रवेश गरेको हो । वडा नं. ११ को जितमा विजय रायमाझी र यम बहादुर बुचाले समान दुई–दुई गोल गरे ।
खेलमा वडा नं. ११ का विजय रायमाझी म्यान अफ दि म्याचबाट पुरस्कृत भए । पहिलो दिनकै दोस्रो खेलमा वडा नं. १३ ले वडा नं. ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ । वडा नं. १३ को जितमा भरत काउचा र प्रेम गुरुङले गोल गरेका थिए ।
वडा नं. ७ का महेन्द्र कार्कीले सान्त्वना गोल गरे । खेलमा वडा नं. १३ का देवराज पुन म्यान अफ दि म्याचबाट पुरस्कृत भए । मंगलबार नै भएको अर्को खेलमा वडा नं. १० उपस्थित नभए पनि वाकओभर हुँदै वडा नं. १ विजयी घोषित गरिएको खेल संयोजक रमेश कुमार जोशीले बताए ।

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेल हबका रूपमा नगरलाई पहिचान दिने गरि काम भइरहेको बताए ।
प्रतियोगितामा १४ वटा वडा सहभागी हुने रहेको क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताए । नगरमा रहेका भेट्रान्स खेलाडीहरूलाई पुर्न ताजगी गराउने गरि फुटबल प्रतियोगिता गर्न लागेको उनले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैयाँ र कपबाट पुरस्कृत गरिने उनले बताए । कुल ८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको सचिव रेसम महराले बताए ।