Butwal Today

जेन–जी आन्दोलनपछि बढ्दो सुरक्षा चुनौती, सीमा क्षेत्रमा तस्करको रजगज

तस्करले भारतबाट मोटर साइकलमा कपडा, खाद्यवस्तु, कस्मेटिक आइटम, मेशिनरी सामग्री, मोबाइल तथा इलेक्ट्रिक सामग्री र स्टेशनरीका सामग्री तस्करी गर्दै नेपालतर्फ ल्याइरहेका छन् । त्यसै गरी नेपालतर्फबाट मकै, मदिरा र चुरोटको तस्करी गरी भारत पु¥याइरहेका छन् ।
६ आश्विन २०८२, सोमबार
अ+
अ-

समाचार सारांशमा


  • रङ्गपुर क्षेत्र यशोधरा गाउँपालिका–६ खुला तस्करीको मुख्य केन्द्र बनेको छ ।


  • तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सशस्त्र प्रहरी असफल देखिएका छन् ।


  • प्रहरी र सशस्त्र प्रहरीसँगको मिलेमतोमा मासिक “लाइन” बुझाएर तस्करी हुने आरोप ।


  • लाइन नमिलाएका तस्करहरूका सामान नियन्त्रणमा लिने र भन्सार चलान गरेर काम देखाउने प्रचलन ।


 

कपिलवस्तु, ०६ असोज ।

जेन–जी आन्दोलनका कारण जनमानसमा असुरक्षा र चोरी डकैतीको डर त्रास बढेको छ । सुरक्षा अवस्था कमजोर भएको फाइदा उठाउँदै कपिलवस्तुमा तस्करी मौलाएको छ ।

पछिल्लो समय जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ६ अन्तर्गत रङ्गपुर क्षेत्रबाट खुलेआम तस्करी मौलाएको पाइएको हो । रङ्गपुर नाकाको पकडीहवा र पुन्निहवा हुँदै ठूलो मात्रामा तस्करी हुने गरेको छ ।

तस्करले मोटर साइकलमा कपडा, खाद्यवस्तु, कस्मेटिक आइटम, मेशिनरी सामग्री, मोबाइल तथा इलेक्ट्रिक सामग्री र स्टेशनरीका सामग्री तस्करी गर्दै आएका छन् । सो सँगै भारततर्फ मकै, मदिरा र चुरोटको तस्करी हुने गरेको छ ।

तस्करले यशोधरा गाउँपालिकाको रङ्गपुर, अमलोनहा, भावपुर, हुँदै वर्गदवा र घरेलु कार्यालय तथा जमुवार हुँदै तस्करीका सामग्री तौलिहवा बजारमा भित्र्याउने गरेका छन् । त्यसैगरि मर्यादपुर प्रहरी चौकी अन्तर्गतको ननवा, सेमरी हुँदै आउने तस्करले गोटिहवा, कोदहवा हुँदै तौलिहवा हाटबजारको बाटोबाट तौलिहवा बजारसम्म तस्करीको सामान पुर्‍याउँदै आएका छन् ।

“एक महिना अघिसम्म राती ३ बजेदेखि नै गोटिहवाको नहर बाटो हुँदै रासायनिक मलको तस्करी हुने गरेको थियो । ३० जना सम्मको हुल बनाएर मोटरसाईलमा मल तस्करी गर्दथे । अहिले कपडा, मोबाइलका सामग्री र खाद्यान्न तस्करी हुने गरेको छ ।” स्थानीय पप्पु चौधरीले भने ।

तौलिहवा क्षेत्र मात्रै नभई तस्करले शुद्धोधन गाउँपालिकाको हथिहवा नाका र मायादेवीको पिपरा हुँदै मोटर साइकलमा तस्करी गर्दै आएका छन् । उता जिल्लाको बिजयनगर गाउँपालिकाको डालपुर, नौरंगिया लगायतका क्षेत्रबाट खसी र बोकाको तस्करी बढेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा तस्करी बढेको क्षेत्र शसस्त्र प्रहरीको प्रस्तावित गुल्म चाकलचौडाको कार्य क्षेत्रमा पर्दछ । सोही कार्य कार्यक्षेत्र अन्तर्गत बर्डर आउट पोष्ट मर्यादपुुर र हथिहवा छ । सीमा क्षेत्रमा हुने भन्सार छली र तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी तस्करी रोक्न असफल देखिँदै आएको छ ।

तस्करसँग लाइन मिलाउने कार्यसँगै सीमा क्षेत्रमा ठाउँ–ठाउँमा चेक पोष्ट राखेर भारतीय र भारतबाट नेपाल आउने आप्रवासी सँग रकम असुल्न व्यस्त भएपछि सुरक्षा निकायको तस्करी नाकामा जानाजान कम उपस्थिति हुँदै आएको बताइन्छ ।

यता तस्करले तौलिहवा बजार क्षेत्रमा ल्याउने तस्करीका सामग्री वर्गदवादेखि घरेलु कार्यालय सम्मको सडक समेत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको २ सय मिटर दुरीको क्षेत्र हो । उता तस्करीको सामानसहित तस्करहरू हाटबजार प्रवेश गर्ने हाटबजार क्षेत्र वडा प्रहरी कार्यालय तौलिहवाको २ सय मिटरकै दुरीमै छ ।

“सबैलाई नमिलाई हामीले सामान ल्याउन सम्भव नै छैन । अहिले गाउँ गाउँमा चोर कुर्न गरिने गस्ती र पहराका कारण समसाँझै सामान ओसार्ने गरेका छौँ ।” तस्करीमा संलग्न एक व्यक्तिले भने । सशस्त्र र नेपाल प्रहरीलाई मासिक लाइन तिरेरै आफूहरूले सामान ओसार्ने गरेको तस्करहरूको दाबी छ ।

यसअघि रातभरि तस्करी हुने गरेकोमा आफूहरूले रातीको समयमा चोरको रूपमा कुटिन सक्ने जानकारी गराएपछि तस्करहरूले साँझ ६ बजेदेखि राती १० बजे सम्म भावभुर तौलिहवा रुटबाट सामान ओसार्ने गरेको यशोधरा गाउँपालिका–२ भावपुरका एक स्थानीयले जानकारी दिए ।

रङ्गपुर र मर्यादपुरको क्षेत्रबाट चामल, फेन्सी, कुखुरा, मेशिनरी पार्टपुर्जा लगायतका सामग्री भित्रिने गरेका छन् । यस्तै हथिहवा र नरकुलबाट अवैध रूपमा कुखुरा भित्रिने गरेको श्रोतले जनाएको छ । रङ्गपुर प्रहरी चौकीका प्रहरी नायव निरिक्षक हेमराज गिरीको कार्यालय अघिबाटै हुने तस्करी समेत उनले अनदेखा गर्ने गरेका छन् ।

दसैँ, तिहार छठको आगमन सँगै नागरिकमा चोरीको डर त्रासका बिच जिल्लाका सीमा नाकामा तस्करी मौलाउनु रहस्यमय देखिएको छ । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको देखिएको छ ।

मिलेमतोमा रङ्गपुर नाकाबाट तस्करीको लाइन पाउनेहरूमा संदिप जयसवाल, बिनोद लोहार लगायत रहेको श्रोतको दाबी छ । प्रहरी र सशस्त्र प्रहरीको टोलीले मासिक लाइन नमिलाएका तस्करहरूको भने मालसामान नियन्त्रणमा लिएर भन्सार चलान गरेर काम देखाउने गरेको आरोप छ ।

जिल्लामा तस्करी बढेको सूचनाका आधारमा सशस्त्र प्रहरीको बिन्दबासिनी बाहिनीबाट सशस्त्र प्रहरीका डिआईजीले खटाएका विश्वासिला व्यक्तिहरूले सुरुको दुई महिना कडाइ गरे पनि पछिल्लो समय लाइन मिलाएकालाई निर्बाध रूपमा तस्करी गर्न छुट दिने गरेको आरोप छ ।

डिआइजी कार्यालयबाट सूचना सङ्कलनका लागि खटिएकाहरू नै तस्करी नभएको रिपोर्टिङ गर्ने र लाइन नमिलाएका तस्करको मात्रै सामान नियन्त्रणमा लिएर भन्सार चलान गर्न अग्रसर देखिने गरेका छन् ।

जिल्लामा तस्करी मौलाएको बारे प्रतिक्रिया लिँदा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले हालसम्म आफूहरूलाई तस्करी भएको बिषयको सूचना नआएको बताए ।

उनले तस्करी हुन नदिनका लागि आफूहरूले विशेष निगरानीका लागि सम्भावित स्थानमा टोली खटाउने प्रतिक्रिया दिए ।