© २०२३
काठमान्डौ, ६ असोज ।
नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा सहभागिता जनाउन आज यूएई प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
यसअघि जेनजी प्रदर्शनका कारण यूएईले नेपाली नागरिकलाई पर्यटक भिसा र श्रम भिसामा रोक लगाएको थियो, जसका कारण नेपाली क्रिकेट टोली यूएई जान सकिरहेको थिएन । नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहपछि मात्र यूएईले नेपाली टोलीलाई आइतबार प्रवेश अनुमति प्रदान गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली मङ्गलबारसम्म यूएई पुग्ने अपेक्षा गरिएको छ । नेपाली टोलीले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोज ११, १३ र १४ गते यूएईस्थित शारजाह क्रिकेट रंगशालामा खेल खेल्ने तय भएको छ ।