© २०२३
दसैँ तिहार सबै नेपालीहरुको सांस्कृतिक पर्व हुन् । धार्मिक रुपमा यी चाडपर्व हिन्दु नेपालीहरुको पर्व भएपनि सामाजिक र सांस्कृतिक रुपमा सबै क्षेत्र र जातजातिहरुमा दशै तिहारको प्रत्यक्ष वा अप्रत्यक्ष छाप परेको पाइन्छ ।
कसैले धार्मिक आस्थाले गर्दा यी चाडपर्व मनाउँछन् भने कसैले पारिवारीक भेटघाट, सामाजिक सद्भाव, मनोरञ्जनको अवसरको रुपमा। टाढा गएकाहरु घर फर्कने, छुट्टिएका आफन्त र साथीभाईहरु मिल्ने, दुःख सुख र अनुभव आदान प्रदान गर्ने, गाउँघरमा विकास निर्माण र परिवर्तनका योजनाहरु बुन्ने र सामाजिक विकास निर्माणका लागि सहयोग जुटाउन दशै तिहारले अवसर प्रदान गर्ने भएकोले गै¥ह हिन्दु नेपालीहरुले पनि दसैँ तिहारलाई सांस्कृतिक पर्वको रुपमा स्वीकार गरेको पाइन्छ ।
दशै तिहारले रमाईलो र आत्मीय परिवेश निर्माण गरेको हुन्छ र यो परिवेशको उपयोग गरी धेरै अवसरहरु हासिल गर्न सकिन्छ । दशै तिहारमा जनश्रम र आर्थिक सहयोग जुटाएर बाटोघाटो, पुलपुलेसा, मठमन्दिर, पाटीपौवा र विद्यालयहरु बनाएका उदाहरणहरु हाम्रा गाउँघरमा प्रसस्तै देख्न पाईन्छ ।
पछिल्लो समयमा भने दशै तिहारको यो पाटो निकै सुस्ताएको छ र यि चाड घुमफिर, भेटघाट र मनोरञ्जन गर्ने अवसरमा मात्र सिमित भएका छन् । दशै तिहारमा लामो विदा हुने र विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु गाउँघर फर्कने भएकोले यी चाडपर्वहरु शैक्षिक अवसर पनि हुन् । शैक्षिक पूर्वाधार निर्माण गर्ने विद्यार्थीलाई समाज चिनाउने र शिक्षकले शिक्षण तयारी गर्नको लागि दशैं तिहार उपयुक्त समय देखिन्छ ।
कसले कसरी उपयोग गर्ने?
दशै तिहारको लामो विदा र जमघटलाई शैक्षिक अवसरको रुपमा फरक फरक पक्षहरुले फरक फरक ढंगमा उपयोग गर्न सकिन्छ । विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुले यो शैक्षिक अवसरलाई निम्नानुसार उपयोग गर्नु राम्रो हुन्छ ।
१. विद्यालय मर्मत र निर्माण
विद्यालय सञ्चालन भैरहेको बेलामा विद्यालयमा भौतिक निर्माण र मर्मत संभारका कामहरु गर्न कठिन हुन्छ। दशै तिहारको विदामा भने यस्ता कार्यहरु सजिलै सम्पन्न गर्न सकिन्छ । विद्यालय रंगरोगन गर्ने, फर्निचर बनाउने, टुटफुट मर्मत गर्न, कक्षाकोठा थप गर्ने जस्ता कार्यहरु गर्न यो समयलाई रोज्न सकिन्छ ।
दशै तिहारमा गाउँघरमा धेरै जना हुने भएकोले विद्यालय सरसफाई, विद्यालय पुग्ने बाटोघाटो मर्मत र निर्माण लगायतका मर्मत सम्भार सम्बन्धी कामहरु जनश्रमदान जुटाएर गर्न सकिन्छ । दशैमा घर फर्केकाहरु सँग चन्दा संकलन गरेर र तिहारमा देउसी भैलो खेलेर विद्यालयको लागि रकम संकलन गर्न सकिन्छ ।
२. विषयवस्तुको तयारी
विद्यालय चलेको समयमा शिक्षकले अध्यापन र आफनो पारिवारीक जीवनलाई सँगसँगै डोर्याउनु पर्ने भएकोले त्यो समयमा आफना कमिकमजोरी केलाउने, विषयवस्तुको तयारी गर्ने, ज्ञान पुनर्ताजगी गर्ने समय कम हुन्छ । त्यसैले हरेक शिक्षकले दशै तिहार विदालाई विषयवस्तुको तयारी गर्ने अवसरको रुपमा उपयोग गर्नु राम्रो हुन्छ ।
पुराना विद्यार्थीहरुसँग भेटघाट गरेर आफना सबल र कमजोर पक्ष केलाउने मौका दशै तिहारको भेटघाटले उपलब्ध गराउँछ । दशै तिहार विदामा चर्चित र विषयवस्तु सम्बन्धी पुस्तक र जर्नलहरु अध्ययन गर्दा ज्ञानको भण्डार वृद्धि गर्न सकिन्छ । दशै विदामा फूर्सद निकालेर शिक्षण समाग्री संकलन र निर्माण गर्न सकियो भने वर्ष भरी नै प्रभावकारी ढंगले शिक्षण गर्न सकिन्छ ।
३. मार्ग निर्देशन
“विज्ञान विदुरे … “ भनेर दशैमा दिईने आशिर्वादले दशैलाई शिक्षासँग जोडने गर्छ । अभिभावकहरुले दशै तिहारलाई विद्यार्थीका उपलब्धी थाहा पाउने, उनीहरुका गतिविधि बुभने र आवश्यक मार्ग निर्देश गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ ।
आफूना बालबालिकाहरुको अध्ययन उपलब्धी कस्तो छ? उनीहरुको समस्याहरु के के छन् ? उनीहरु कतै गलत बाटोमा हिडेका त छैनन? भन्ने कुराको खोजनीति गरी उनीहरुको समस्या समाधान गरिदिने प्रयास र आवश्यक मार्ग निर्देशन दिने उपयुक्त समय र अवसर दशै तिहार विदा नै हो ।
लामो समय घरबाट टाढा रहेकालाई सामाजिक अवस्था, सम्बन्ध र संस्कार सिकाउने कार्य अभिभावकहरुले गरेमा विद्यार्थीहरुको शैक्षिक उन्नतीमा त्यसले अवश्य पनि उर्जा थप्न सक्छ ।
दशैं तिहारको विदा अवधी भेटघाट र मनोरञ्जनमा सिमित गर्नुहुदैंन । यो उमंग र उर्जालाई विद्यालयको स्थापना संभार र सुधारमा लगाउन पनि अभिभावकहरु अग्रसर हुनुपर्छ ।
जागीरको सिलशिलामा विदेशीएका /बाहिरिएका मानिसहरु दशै तिहारको अवसरमा घर आउने भएकोले आफनो क्षेत्रको शैक्षिक विकासको लागि उनीहरुबाट अर्थ संकलन गर्ने र जनश्रम परिचालन गरि विकास निर्माणका योजना र कार्यहरु गरेमा दशै तिहार जस्ता चाडपर्वहरु सदा स्मरणीय र फलदायी हुन सक्ने कुरामा शंकै छैन ।
४. भो ! होमवर्क नदिनुस्
दशैँ बिदा हुने बेलामा अविभावक र विद्यालयका प्रशासकहरुले विद्यार्थीलाई टन्नै होमवर्क दिन लगाउछन भने विद्यार्थीहरु होमवर्क नदिन वा कम दिन विषय शिक्षकलाई अनुनय विनय गरिरहन्छन् ।
धेरै अबिभावकहरुले बालबालिकाहरुलाई धेरै होमवर्क दिंदा बिदाको समयमा बालबालिकाहरु बरालिन नपाउने ठान्छन भने शिक्षकहरुले पनि होमवर्क दिंदा बालबालिकाहरु पढाईमै व्यस्त रहने हुँदा पढाईमा सकारात्मक प्रभाव पुग्छ भन्ने ठान्ने गर्छन् ।
अभिभावक र शिक्षकको फितलो बुझाई अनि विद्यालयको कडा अनुशासनको मारमा परेर विद्यार्थीहरुले साँस्कृतिक पर्वको महत्वपूर्ण अवसरलाई पनि तनावको रुपमा विताईरहेका हुन्छन ।
नेपालका अधिकांश शिक्षण सस्थामा दशैँ तिहारको लामो बिदा हुन्छ । विद्यार्थीहरु लामो समय घरमा बस्न सकुन, घुमफिर गर्ने अवसर पाउन भनेर बर्खे बिदालाई कटाएर यो समयमा लामो बिदा दिइएको हुन्छ. दशैँ बिदा परिवारसंग सस्कृतिमा रमाउने, संस्कृति सिक्ने, परिवार तथा समाज चिन्ने, सामुदायिक काममा सहभागी हुने, पारिवारिक काम खेतीपातीमा सघाउने र भूगोल चिन्ने अवसर हो ।
तर अभिभावक र शिक्षकहरुले गर्दा यो समयमा पनि विद्यार्थीहरु पढाईकै तनाव लिन बाध्य हुन्छन् । स्कूल विदा भएर घरमा जाँदा समेत झोलामा किताब कापीको भारि बोकेर जानुपर्ने बाध्यतामा विद्यार्थीहरु देखिन्छन् ।
किताब कापी नलिई गाउँघर पुगेकाहरु होमवर्क गर्नको लागि छिट्टै शहरमा फर्किने हतारमा हुन्छन । अझ कतिपय स्कूलले त पढाई राम्रो बनाउने नाममा दशैँ तिहार विदाको विचमै अतिरिक्त क्लास चलाएर विद्यार्थीमाथि बोझ थपिरहेको समेत देखिन्छ । यस्ता कामहरु विद्यार्थिहरुमाथी मनोबैज्ञानिक दवाव मात्र हैन सामाजिक–सास्कृतिक गल्ति समेत हो ।
दशै तिहार भन्ने वित्तिकै विद्यार्थीहरु रोमाञ्चित हुन्छन् । स्कूल कलेज गएर पढनु नपने, घरमै बस्न पाईने र घुमफिर गर्न पाईने भएकोले विद्यार्थीहरुले दशैं तिहार विदाको लामो प्रतिक्षा गरेका हुन्छन् । स्कूल कलेज जानु पर्दैन भन्दैमा दशै तिहार विदामा विद्यार्थीहरु फुकेको साँढे बन्नु राम्रो हुदैन् ।
यो समयलाई विद्यार्थीहरु व्यक्तित्व विकासमा पूर्ण उपयोग गर्नुपर्छ । विदामा पनि अध्ययनलाई निरन्तरता दिनुपर्छ । “नौ दिनमा नौलो, विस दिनमा विर्सियो“ भन्ने नेपाली उखान नै छ । २, ४ दिन नपढ्दा पछि पढने बानी नै हराउँछ ।
त्यसैले लामो विदामा गृहकार्य नभई परियोजना कार्य दिने, पाठ्यपुस्तक बाहिरका पुस्तक जर्नल र पत्रपत्रिकाहरु अध्ययन गर्ने, विश्लेषण गर्ने जस्ता कामहरु दिनुपर्छ । यस्तो अध्ययनले समाज, सभ्यता, संस्कृति र प्रविधिको ज्ञान प्राप्त गर्न मद्दत गर्छ। जसले अन्नतः विद्यार्थीहरुको शैक्षिक स्तरलाई माथि उकास्छ ।
५. समाज बुझ्ने अवसर
विद्यार्थीहरु लगातार स्कूल गईरहने र अध्ययनमा व्यस्त रहने हुँदा उनीहरु समाज र संस्कृतिसँग टाढिएका हुन्छन् । विद्यार्थीले दशै तिहारलाई समाज र संस्कृति बुझ्ने अवसरको रुपमा समेत उपयोग गर्नुपर्छ ।
आफू अरु आफन्त र साथीहरुको क्षेत्रमा गएर घुमफिर गरि त्यहाँको सामाजिक आर्थिक र वातावरणीय अवस्था अवलोकन गर्ने र उनीहरुलाई आफूनो क्षेत्रमा भ्रमण गराएर आफूनो समाज र संस्कृति बुझाउने कार्य गरेमा विद्यार्थीहरुले नयाँ ज्ञान र अनुभव हासिल गर्न पाउँछन् र पछि यो भ्रमण पर्यटन विकासको लागि उपयोगी सावित हुनेछ ।
त्यस्तै दशै तिहार विदामा विद्यार्थीहरु परिवारसँग नजिकिने, परिवारको सञ्चालन पद्धति, संस्कार र समस्या बुझ्ने तर्फ पनि केन्द्रित हुनुपर्छ । यस्ता कार्यले विद्यार्थीलाई जीवन चलाउन स्वःनिर्देशन मात्र प्राप्त हँदैन, अध्ययन पुरा गरेपछि आफूलाई समाजमा स्थापित गर्न समेत मद्दत पुग्छ ।
दशै तिहार हिन्दुहरु मात्र नभई नेपाली संस्कृतिमा रमाउने सबैको लागि उल्लासमा पर्व हुन् । यी चाडपर्वहरुमा थुप्रै विकृतीहरु पनि छन्। ति विकृतिहरुलाई हटाउदै दशै तिहारको सांस्कृतिक र सामाजिक आयामहरुको संरक्षण र पालना गर्नुपर्छ ।
दशै तिहारलाई सांस्कृतिक र धार्मिक पर्व वा रमाइलो र भेटघाट गर्ने अवसरको रुपमा मात्र हेर्नु हुँदैन । यी चाडपर्वलाई शिक्षक, विद्यार्थी, अभिभावक र सबै शैक्षिक सरोकार वालाहरुले शैक्षिक अवसरको रुपमा सदुपयोग गर्नुपर्छ । यी कुराहरुमा सबैको ध्यान जावोस् । दशैं तिहार सबैको लागि उपलब्धीमलक प्रेरणादायी र स्मरणीय बनोस् सबैलाई दशैं तिहारको यहि शुभकामना ।