© २०२३
काठमान्डौ, ६ असोज ।
भारत सरकारले लामो समयदेखि दैनिक उपभोग्य वस्तुमा लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) कटौती गरेको छ । यससँगै किराना तथा भान्सामा प्रयोग हुने अधिकांश सामान सस्तो भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो कर कटौतीलाई ‘जीएसटी बचत उत्सव’ नाम दिँदै निम्न आय वर्गका परिवारलाई राहत हुने बताएका छन् । उनका अनुसार दुग्धजन्य उत्पादन, खाद्यान्न, तरकारीदेखि लिएर कतिपय इलेक्ट्रोनिक सामानसम्म कर कटौतीको दायरामा परेका छन् । यससँगै उपभोक्ताले ९९ प्रतिशतभन्दा बढी वस्तु तथा सेवा अब ५ देखि १० प्रतिशत सस्तोमा प्राप्त गर्नेछन् ।
सन् २०१७ देखि भारतले मूल्य अभिवृद्धि कर (भ्याट) हटाएर जीएसटी लागू गरेको थियो । विभिन्न करलाई एकीकृत गर्दै सुधारका रूपमा जीएसटी लागू गरिएको बताउँदै आएको सरकारले यसपटकको कटौतीलाई उपभोक्ता हितमा उठाइएको कदम भनेको छ ।
तर, विपक्षी दलहरूले भने सुरुदेखिनै जीएसटी प्रणालीको विरोध गर्दै आएका छन् । यसबीच, प्रधानमन्त्री मोदीले कर कटौतीसँगै स्वदेशी वस्तुको प्रयोग पनि बढ्ने विश्वास व्यक्त गरेका छन् ।