दाङ,६ असोज ।
दाङको घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीलाई विभिन्न सामग्री सहयोग गरेको छ। भदौ २४ गतेको आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना ध्वस्त भएपछि कार्यालय सञ्चालनमा कठिनाई भएको अवस्थामा विद्यालयले करिब ८० हजार रुपैयाँ बराबरका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो।
विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले कार्यालय प्रमुखलाई एक थान प्रमुख टेबल, एक थान कार्यालय टेबल, एक थान कार्यालय दराज, पाँच थान सिलिङ पंखा, दश थान कुर्सी, एक थान भित्ते घडी र एक थान ऐना हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वक्ताहरूले सामाजिक जिम्मेवारीअनुसार अगाडि बढ्दै आएको गुरुकुल एकेडेमीले सार्वजनिक संस्था र समुदायको आवश्यकता अनुसार सहयोग गरेको भन्दै प्रसंसा गरेका थिए।
कार्यक्रममा घोराही उपमहानगरपालिका १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेले शैक्षिक संस्था मात्र नभई सामुदायिक उत्तरदायित्वमा पनि गुरुकुल एकेडेमीले उदाहरणीय काम गरेको बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले शिक्षा क्षेत्रले समाजप्रति संवेदनशील र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै गुरुकुलको पहल अन्य संस्थाका लागि प्रेरणादायी हुने बताए । विद्यालयका संचालक समिति सदस्य रुपक थापा , प्लस टु संयोजक राजन अधिकारी , परीक्षा संयोजक विबेक देबकोटा र समाजसेवि युवा ब्यबसायि इन्द्रकुमार वलीको सहभागिता रहेको थियो ।