© २०२३
नेपालगञ्ज, ६ असोज ।
नेपालगञ्जका मूर्तिकारलाई यतिबेला दुर्गाभवानीको मूर्ति सिँगार्न भ्याइनभ्याइ छ । घटस्थापनाको दिनसम्म अर्डरअनुसार सबै मूर्ति तयार गर्नुपर्ने भएकाले उनीहरू दिनरात नभनी व्यस्त छन् । दसैँ नजिकिँदै जाँदा मूर्तिकारहरूको दैनिकी नै अत्यन्त व्यस्त बन्ने गरेको छ । घटस्थापनाको बेलुकासम्म सबै मूर्ति सिँगारिसक्नुपर्ने भएकाले माटाका मूर्तिहरूलाई रङ–रोगन र सजावट गर्ने काममा उनीहरूलाई ब्यस्त छन् ।
तराईमा दसैँका दिन विशेषगरी घटस्थापनादेखि नै टोल–टोलमा माटोबाट बनेका दुर्गामाताको मूर्ति पूजा गर्ने चलन छ । नेपालगञ्ज वागेश्वरी मन्दिर नजिकै मूर्ति बनाउँदै आएका अंकित कुमार मिश्राले अर्डर ढिलो आउने भएकाले समयमा मूर्ति निर्माण गरि सजाववटको काम ढिलाई हुने गरेको बताए ।
उनले भने, ‘‘मइले निर्माण गरेको मूर्ति, दाङ, सुर्खेत र काठमाण्डौ सम्म पनि जाने गरेको छ, टाढा पठाउने मूर्ति पहिले नै अर्डर भएपनि नजिकका मानिसहरु ढिलो अर्डर गर्दिनुहुन्छ ।’’ अंकितले एउटा मूर्ति सेट १५ हजार देखि ७५ हजार सम्म मूल्यमा बिक्री गर्दै आएको जनाए ।
नेपालगञ्ज उपमहानगरपालिका–८ का मूर्तिकार छोटु केवट भन्छन्, “आधा भन्दा धेरै मूर्ति तयारी अवस्थामा छन्, रङरोङ्गन मात्र गर्न बाँकी छ, अहिले कामले भ्याइनभ्याइ छ ।” उनले अगाडि थपे, “आजभोलि मूर्ति किन्न भारत जानु पर्दैन, नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।” छोटुका अनुसार सामान्य काठ, बाँस, सुतरी, पराल र माटोको मिश्रण प्रयोग गरेर मूर्ति तयार गरिन्छ भने सजावटका सामग्री भने अझै पनि भारतीय बजारबाटै आयात गर्नुपर्छ । दसैँको समयमा केही मूर्ति अर्डर अनुसार बनाइन्छन् भने केही मूर्तिहरू आफैं बनाएर बिक्री गरिन्छन् ।
नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गाभवानीका मूर्तिहरू पछिल्ला केही वर्षयता यहीँका कालीगढहरूले निर्माण गरेर बिक्री गर्दै आएका छन् । कुनै समय भारतीय सीमावर्ती क्षेत्रबाट मूर्ति ल्याउनु पर्ने बाध्यता रहँदा पनि अहिले भने स्थानीय मूर्तिकारहरूले पर्याप्त मात्रामा मूर्ति उत्पादन गर्न थालेका छन् । छोटुका भनाइमा, “नेपालगञ्जमै आकर्षक मूर्ति बन्न थालेपछि भारतीय बजार धाउनुपर्ने बाध्यता हटेको छ ।”
नेपालगञ्जमै आधा दर्जनभन्दा बढी ठाउँमा व्यावसायिक रूपमा दुर्गाभवानी तथा अन्य देवी–देवताका मूर्तिहरू बनाइन्छन् । यस्तै बाँकेको, राँझा, कोठारपुर, जानकी गाउँपालिकाका केही स्थानमा पनि मूर्ति बनाउने परम्परा जीवित छ । जानकी गाउँपालिका–६ कैरातीपुरका राजकुमार हरिजन पनि यतिबेला माटोसँगै दिनरात व्यस्त छन् ।
सडक किनारमा बनेको अस्थायी टहराभित्र र बाहिर उनका हातले बनाइएका भगवानका मूर्तिहरू थुप्रै तयारी अवस्थामा सजिएका देखिन्छन् । सानै उमेरदेखि मूर्ति बनाउँदै आएका राजकुमारका लागि यो पेशा पुख्र्यौली सम्पत्ति सरह हो । उनी भन्छन्, “पहिला साना–साना मूर्ति बनाउँथ्यौँ, पछि ठूलो बनाउन थाल्यौँ ।
अहिले दुर्गामातादेखि अन्य सबै प्रकारका मूर्ति बनाउने गरेको छु । नवरात्रकै बेला ‘सिजन’ हुन्छ । पराल, बाँस, माटो, काठकिल्ला, डोरी सबै चाहिन्छ, मेहनत निकै हुन्छ ।” उनका अनुसार २० देखि २५ हजार रुपैयाँमा बिक्री हुने एउटा मूर्तिबाट ४ देखि ५ हजारसम्म नाफा रहने गर्दछ ।
राजकुमारले आफू जस्तै अन्य ६ जनालाई रोजगारी समेत दिएका छन् । उनीहरूले १० हजारदेखि २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । राजकुमार भन्छन्, “सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्छौं । नियमित चिनेजानेका ग्राहकलाई केही छुट दिने गरेका छौं । तर, कहिलेकाहीँ एक जनालाई छुट गर्दा अरू धेरै जनासँग घाटा खानुपर्ने अवस्था पनि आउँछ ।”
तर बाँकेमा मूर्ति बनाउने मूर्तिकार अझैसम्म सङ्गठित हुन सकेका छैनन् । यसकै कारण मूर्तिको मूल्यमा पनि एकरूपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसँगै कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुर र राप्ती सोनारीमा समेत दशैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा रहेकाले मूर्तिको माग झनै बढ्ने गरेको पाइन्छ ।
मूर्तिकारहरूको भनाइमा, दशैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजा गर्ने परम्परा संस्कृतिको रूपमा बलियो हुँदै गएको छ । यसकै कारण हरेक वर्ष दुर्गा मूर्तिको माग निरन्तर बढिरहेको छ ।