© २०२३
रुपन्देही, ६ असोज ।
चिदिका–रुपन्देही सम्पर्क समाजले विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य र सल्लाहकारको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले समाज स्थापना भएको दिनदेखि नै समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउन समाजले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले विगतका अनुभवका आधारमा भविष्यमा अझ सशक्त कार्यक्रमहरू ल्याउन आवश्यक रहेको धारणा राखे ।
त्यसैगरी, पूर्व अध्यक्ष इश्वरी ज्ञवालीले सम्पर्क समाजको आवश्यकता र महत्वबारे बोल्दै बसाइँसराइ गरी रुपन्देहीमा आएका चिदिका बासिन्दाबीच एकताको सूत्र कायम गर्न समाजले ठूलो योगदान दिएको उल्लेख गरे । उनले आगामी दिनमा शैक्षिक तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
संस्थाकी अध्यक्ष गीता ज्ञवालीले विजयादशमीदेखि नेपाल संवतसम्मका पर्वले एकता, सद्भाव र सहिष्णुताको सन्देश दिने बताउँदै सम्पर्क समाजले परम्परागत सांस्कृतिक मूल्यलाई जोगाउनेतर्फ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन् ।
अर्घाखाँचीको साविक चिदिका गाविसबाट बसाइँसराइ गरी रुपन्देही तथा आसपासका क्षेत्रमा बसोबास गर्नेहरूद्वारा स्थापना गरिएको यो संस्थाले विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधि गर्दै आएको सचिव हेमनाथ ज्ञवालीले बताए । यसपटकको शुभकामना आदानप्रदानले पनि आपसी सम्बन्धलाई थप सुदृढ पारेको सहभागीहरूले बताएका छन् ।