© २०२३
नेपालीहरूको सबैभन्दा ठुलो पर्व दसैँ र तिहारको अवसरमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले देशका विभिन्न १ सय ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । हरेक वर्ष विभागले यसरी नै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
वर्षको एक पटक सञ्चालन हुने यस्तो सुपथ मूल्य पसलमा भने उपभोक्ताको गुनासो कम होइन बरु बढ्ने गरेको छ । निश्चित रूपमा यस प्रकारका सुपथ पसलले उपभोक्तालाई दसैँ र तिहारमा केही सस्तोमा भए पनि उपभोग्य वस्तु खरिद गर्न पाउँदा राहत प्रदान नै गर्छन् ।
सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मात्र होइन स्थानीय गतिविधि बढाउन समेत सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ ।
सुपथ मूल्य पसलसँगै विभिन्न व्यवसायीक सङ्घ संस्थाले दसैँ सस्तो बजार पनि आयोजना गर्दै आएका छन् । सुपथ मूल्यका पसलले नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा वृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ ।
मुलुकमा अहिले आर्थिक सङ्कटको अवस्था छ । यो घडीमा उपभोक्तालाई राहत दिने यस्ता पसल र बजार आयोजना हुनु राम्रो सङ्केत हो । सस्तो बजार, मेला र महोत्सवले बजारको चहलपहलमा बृद्धिमात्र होइन, स्थानीय गतिविधि वृद्धि गरी राष्ट्रिय उत्पादनमा सहयोग पुग्छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश सङ्कटमा हुँदा पनि यस प्रकारका आर्थिक गतिविधि बढ्नु राम्रो सङ्केत हो ।
यो भनेको जनता चलायमान छन् र देशले थोरै फड्को मारे पनि यहाँको आर्थिक सूचकाङ्क राम्रो विन्दुमा पुग्न सक्छ भन्ने हो । अहिले राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर अवस्थामा छ । जेनजी आन्दोलनले मुलुकलाई धेरै पछाडि धकेलेको छ ।
मुलुकको यो अवस्था रहँदा पनि यहाँ भइरहेको गतिविधिले भने केही आशाातीत सम्भावनालाई उजागर गरिरहेका छन् । सस्तो बजार, मेला र महोत्सवको चहलपहलले देश आर्थिक सम्मृद्धितर्फ उन्मुख हुन ठुलो मद्दत गर्दछ ।
यस्ता गतिविधिलाई आगामी दिनमा पनि प्रवर्द्धन गर्नु आवश्यक छ । जेहोस सरकारका तर्फबाट आपूर्ति व्यवस्था विभाग र निजी व्यावसायिक सङ्घ संस्थाको तर्फबाट बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलमा आयोजना गर्दै आएको दसैँ सस्तो बजार मेलाले यस क्षेत्रको आर्थिक गतिविधि वृद्धि गर्न सहयोग पुगेको छ । यसलाई अझै प्रवर्द्धन गर्नु आवश्यक छ ।
हरेक वर्षको नियती हो– चाडपर्व नजिक आउँदै गर्दा उपभोक्ता जहिले पनि महँगीको मारमा पर्ने गरेका छन् । सुपथ मूल्य पसल र सस्तो बजार त क्षणिक दिनका लागि मात्र हो । जति दिनको लागि भए पनि उपभोक्ताले राहत पाउनु ठुलो कुरा हो ।
अबको दिनमा दसैँ र तिहारमा मात्रै होइन, सरकारले दिर्घकालीन रूपमा जनतालाई राहत हुने गरी सस्तो पसल सञ्चालन गर्नुपर्दछ । यो वर्षको चाडपर्व नेपालीहरूको ढोकैमा आइसकेको छ । अतः सुपथ मूल्य पसल सीमित स्थानमा सञ्चालन भए पनि त्यसले उपभोक्तालाई राहत दिन सकोस् ।
सरकारले आगामी दिनमा यस्ता पसल १ सय ६१ स्थानमा मात्रै होइन, हरेक पालिकामा विस्तार गर्नेतर्फ ध्यान देओस् । अर्कोतर्फ दसैँलाई लक्षित गरी सञ्चालनमा आएका कतिपय सस्तो पसलले उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरिरहेको पनि पाइएको छ ।
छुट भनिएका सस्तो पसलमा उपभोक्ताको त्यत्तिकै भीड देखिन्छ । त्यही भीडको फाइदा उठाउँदै उपभोक्तामाथि महँगीको भारी थोपर्ने काम भइरहेको गुनासो पनि सुन्ने गरिएको छ । तसर्थ सस्तो पसलको अनुगमनको व्यवस्था हुनु जरुरी छ ।
सस्तो सामान दिने नाममा उपभोक्ता आकर्षित गर्ने व्यवसायीले छुटको नाममा झनै आहत दिने काम चाहिँ नहोस् । बुटवल सहित देशका विभिन्न स्थानमा हुने सुपथ पसल र दसैँ सस्तो बजारले उपभोक्तालाई आहत होइन राहत दिने काम गरोस् । कम्तीमा उपभोक्ताले राहतको महसुस गरे भने मात्रै यस्ता बजार र पसलको औचित्य पुष्टि हुनेछ ।