Butwal Today

युवा माथि गोली प्रहार, जेनजी आन्दोलन र सरकारी व्यवहारमाथि प्रश्न

५ आश्विन २०८२, आइतबार
अ+
अ-

 काठमाडौं,५ असोज ।

जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले गहिरो दु:ख प्रकट गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भएको प्रदर्शनमा युवाहरूले बलिदानी दिनुपरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

समिति सभापति माया प्रसाद शर्माले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा समेत बलिदान दिनुपर्ने अवस्था आएकामा दु:ख व्यक्त गर्दै सहादतप्रति श्रद्धाञ्जली अर्पण गरे ।

समिति सदस्य नरबहादुर विष्टले जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने उद्देश्यका लागि सुरु भए पनि त्यसको दुरुपयोग हुँदा देश दशकौँ पछाडि धकेलिने खतरा उत्पन्न भएको बताए ।

अर्का सदस्य कृष्ण प्रसाद अधिकारीले आन्दोलनमा युवामाथि ताकी–ताकी गोली प्रहार गरिएको भन्दै छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । उनले क्षतिग्रस्त पुरातात्विक सम्पदाको विवरण संकलन गरी प्रतिवेदन तयार पार्न पनि समितिलाई प्रस्ताव राखे ।

सदस्य सुमित्रा विसीले अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु र जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माण सुरु गर्नु रहेको उल्लेख गरिन् ।

सदस्य गोमादेवी तिमिल्सिनाले प्रतिनिधि सभा विघटनको परिस्थितिमा राष्ट्रिय सभामाथि थप जिम्मेवारी आएको बताइन् । उनले आन्दोलनमा टाउको र छातीमा गोली प्रहार भएको घटनाप्रति प्रश्न उठाउँदै यसबारे गहिरो छानबिन आवश्यक भएको भनिन् ।

उनले थपिन्, ‘जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रणका लागि थियो तर यस क्रममा सार्वजनिक सम्पत्तिको क्षति भएको छ । यसबारे अनुसन्धान अनिवार्य छ ।’

उनका अनुसार आन्दोलनका क्रममा घाइते भएकाले सरकारले निशुल्क उपचार गर्ने घोषणा गरे पनि व्यवहारमा त्यस्तो सुविधा नपाएको गुनासो आएको छ, जसप्रति समितिले चासो दिनुपर्ने आवश्यकता छ ।

समितिले क्षति भएका सार्वजनिक र निजी सम्पत्तिको विवरण संकलन गरी सरकारलाई उपलब्ध गराउने तयारीसमेत जनाएको छ ।