Butwal Today

नेपाल छनोट समितिले ‘अञ्जिला’ को अस्कर सिफारिस स्थगित गर्यो

५ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

चर्को विवादपछि नेपाल अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले फिल्म ‘अञ्जिला’ लाई अस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय स्थगित गरेको छ । शनिबार बसेको समितिको बैठकपछि निर्णय स्थगित गरिएको समितिका अध्यक्ष विमल पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार केही दिनको म्याद दिएर पुनः आवेदन माग गरिनेछ । उनले भने, ‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ । पाँच दिन समय थपेर आवेदन आह्वान गरिनेछ ।’

गत बिहीबार अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले नेपालबाट ‘अञ्जिला’ पठाउने निर्णय गरेको थियो । तर, छनोट समितिको निर्णय त्रुटिपूर्ण भएको बताउँदै चलचित्रकर्मीहरूले चर्को आवाज उठाएका थिए ।

छनोट समितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई अस्कर मापदण्डविपरित निर्णय गरेको भन्दै विरोध भएका थिए ।यसअघि हेरिएका दुई फिल्म ‘अञ्जिला’ र ‘गुन्युचोलो’ बाहेकका अन्य फिल्मलाई आवेदन मागेर पुनः हेरिने समितिले जनाएको छ ।