Butwal Today

नेपाली क्रिकेट टोली भोलि युएई प्रस्थान गर्ने

५ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ०५ असोज ।

वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार यूएई प्रस्थान गर्ने तयारीमा रहेको छ ।

नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले भिसा प्रक्रियामा ढिलाइ गर्दै एक सातापछि मात्र अनुमति दिने निर्णयमा पुगेको हो । यसअघि आवेदन दिएको दुई दिनमै भिसा स्वीकृत हुने गरेकोमा यसपटक ढिलाइ भएको बताइएको छ ।

भिसा प्रक्रियामा समस्या आएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र यूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो । नेपाली टोलीका म्यानेजर विनोद दासका अनुसार भिसा आजै टुंगिने र टोली सोमबार यूएई जाने तयारीमा छ ।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ–आफ्नो टोली घोषणा गरिसकेका छन् ।

युनिटी कपका लागि अनलाइन टिकट बिक्री समेत खुला भएको छ । क्यानले नेपाली टोलीलाई बिहीबार नै औपचारिक बिदाइ गरिसकेको छ ।