Butwal Today

नेपालगञ्जमा दुई हजार बढी गोलीका खोका सहित दुईजना पक्राउ

५ आश्विन २०८२, आइतबार
अ+
अ-

नेपालगञ्ज, ५ असोज ।

नेपालगञ्जमा स्थानीयबासीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका छन् । नियन्त्रणमा लिइएका ब्यक्तिसँग दुई हजारभन्दा बढी गोलीका खोका पनि बरामद गरिएको छ ।

नेपालगञ्जका विभिन्न टोलमा पछिल्ला दिनमा चोरीका घटना बढेपछि स्थानीयले राति गस्ती गर्न थालेका थिए । त्यही क्रममा आइतवार बिहान करिब ३ बजे एक जनालाई नियन्त्रणमा लिइएको र अर्को व्यक्तिलाई बिहान फेरि पक्राउ गरिएको वडाध्यक्ष अयुब सिद्धिकीले जानकारी दिए ।

उनका अनुसार स्थानीयले लखेट्दा ती व्यक्तिबाट २ हजार ९७ वटा प्रयोग भइसकेका गोलीका खोका फेला परेका हुन् । वडाध्यक्ष सिद्धिकीले भने, “चोरीका घटनापछि टोलबासीले नियमित गस्ती सुरु गरेका थिए । राति ढुंगामुढा गर्ने समूहलाई लखेट्दा एक जनालाई तत्कालै समातियो ।”

स्थानीयबासीले केही दिनअघि चोरले टोलमै सूचना टाँसेर धम्कीसमेत दिएको बताए । यस कारण स्थानीय बासिन्दा रातभर सतर्क रहँदै आएको र शान्तिपूर्वक सुत्नसमेत नपाएको गुनासो गरेका छन् ।