© २०२३
काठमाडौँ ।
सरकारले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीलाई नियुक्त गरिएको जानकारी दिए। उनले आयोगको कार्यावधि तीन महिना तोकिएको बताए।
यसैबीच, मन्त्रिपरिषद्ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ।
प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ।
शाक्य र सिलवाल दुबैको कार्यावधि चार वर्षको रहनेछ।