© 2026
काठमाडौं, ५ असोज ।
पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि दुर्गा पक्षको औपचारिक सुरुआत हुनेछ ।
दशैं रमाइलो गरी मनाउने तयारीमा रहेका लागि मौसम कस्तो होला भन्ने चासो हुनु स्वाभाविक हो । साँच्चै, यस वर्षको दशैंमा मौसम कस्तो हुने देखिन्छ त ?
मौसमविद् डा. विनोद पोखरेलका अनुसार, यस वर्षको दशैं हिलेसँगै मनाउनु पर्ने सम्भावना धेरै छ । उनका अनुसार घटस्थापनादेखि एक हप्तासम्म मौसम विशेष सक्रिय नदेखिए पनि साँझ तथा बेलुका केही स्थानमा वर्षा हुने सम्भावना कायम नै छ ।
“अर्को हप्ता दशैंको मध्यतिर मौसम पुनः सक्रिय हुने देखिन्छ,” डा. पोखरेल भन्छन्, “यसका कारण नेपालभर हिले दशैं हुने सम्भावना देखिएको छ ।”
विपद् व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेतीका अनुसार, दशैंको समयमा पनि नेपालमा मनसुन कायम रहने देखिन्छ ।
उनका अनुसार, सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने प्रणाली विकसित हुँदैछ । त्यसको बढी प्रभाव बंगलादेश, म्यानमार र भारतको सिक्किम, आसाम तथा मेघालयमा पर्ने सम्भावना छ । यद्यपि, यसको आंशिक असर नेपालका पूर्वी सिमानासम्म पर्न सक्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही ढिलाइ हुन सक्ने देखिन्छ ।
मौसम पूर्वानुमानका लागि प्रायः आइकोन, जीएफएस, र ईसीएमडब्लुएफ ( युरोपियन मोडेल) प्रयोग गरिन्छ । यिनीहरूले देखाएका सम्भावनाहरू भने एकआपसमा मेल खाँदैनन् ।
युरोपियन मोडेलले पूर्वी नेपालमा खासै वर्षा नदेखाए पनि भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षा हुने देखाएको छ । त्यसको असर नेपालको सुदूरपश्चिमसम्म पर्न सक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले फरक–फरक सम्भावना देखाएका कारण, आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाट लिनु उचित हुने डा. उप्रेतीको सुझाव छ ।
उनका अनुसार, “केही मोडेलले अर्को आइतबारदेखि कोशी प्रदेशदेखि गण्डकीसम्म पानी पर्ने सम्भावना देखाएका छन् । केही मोडेलले दशैंको मुख्य दिन दिउँसोसमेत वर्षा हुने देखाएका छन् । त्यसैले आधिकारिक जानकारी मौसम विज्ञान विभागकै प्रतिवेदनबाट लिनु राम्रो हुन्छ ।”
विभागले के भन्छ ?
जल तथा मौसम विज्ञान विभाग सामान्यतया तीन दिनभन्दा बढीको मौसम पूर्वानुमान औपचारिक रूपमा प्रदान गर्दैन । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, दशैंलाई लक्षित गरेर विशेष बुलेटिन सार्वजनिक गरिनेछ ।
उनले त्यस्तो बुलेटिन आउञ्जेल अन्य अनौपचारिक सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् । विभागकै अर्का एक मौसमविद्को भनाइअनुसार, बंगालको खाडीमा विकसित हुने प्रणालीको सिधा असर नेपालमा पर्ने सम्भावना न्यून छ ।
“त्यो प्रणाली मध्य भारत हुँदै सर्ने भएकाले नेपालमा प्रत्यक्ष असर पर्ने सम्भावना देखिँदैन,” ती मौसमविद् भन्छन् । उनका अनुसार, आज कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम खालको वर्षा हुन सक्छ । भोलि र पर्सि अधिकांश क्षेत्रमा मौसम सफा रहने सम्भावना छ ।