Butwal Today

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

५ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ५ असोज ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज केहि बेर अघि सुरु भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न माओवादीले यो बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ । बैठकको एजेन्डा सम्बन्धमा थप विवरण खुलाइएको छैन ।

जेनजी आन्दोलनपछि माओवादीभित्र पनि नेतृत्व रूपान्तरणको बहस चर्किन थालेको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा अध्यक्ष प्रचण्डको राजीनामा मागिसकेका छन् ।

तर, संस्थापन पक्षका नेताहरूले अझै नेतृत्वमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको तर्क प्रस्तुत गरेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले माओवादीको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए । माओवादीले सरसफाइ गरेर पार्टी कार्यालय पुन: सञ्चालनमा ल्याएको छ ।

जेनजी प्रदर्शनका दिन अध्यक्ष प्रचण्डको निवाससहित अन्य नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।