© 2026
सुर्खेत,५ असोज ।
वीरेन्द्रनगर नगरपालिकाका १२ वटा वडाको काम आजदेखि जिल्ला समन्वय समितिको हलबाट सञ्चालन गरिएको छ ।
जेन–जी आन्दोलनका कारण वीरेन्द्रनगर नगरपालिकासहित वडा नम्बर एक देखि १२ सम्मका वडा कार्यालयहरूमा आगजनी भएपछि जिल्ला समन्वय समितिको हलबाट काम सञ्चालन गर्न लागिएको हो ।
वडा कार्यालयमा आगजनी भएको झन्डै दुई साता पुग्न लाग्दा आजबाट जिल्ला समन्वय समिति सुर्खेतको सानो हलबाट नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
आन्दोलनका कारण वडा अधिकांश वडा कार्यालयहरू ध्वस्त भएका कारण नगरपालिकाले नागरिकलाई दसैँको मुखमा अत्यावश्यक सेवा पाउन सहज होस भनेर समन्वय समितिको हलबाटै भए पनि एकीकृत सेवा प्रवाह गरिएको नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
‘सबै वडा कार्यालयहरूका सामाग्री जलाइएका छन् । कार्यालयका कागजपत्र ध्वस्त भएका छन् । वडा कार्यालयबाट काम सुरु गर्न सक्ने अवस्था अहिले छैन ।’ ढकालले भनिन, ‘अहिले अर्को व्यवस्था नगरिएसम्म केही समयका लागि यहाँबाट नै हामी नागरिकलाई आवश्यक पर्ने अत्यावश्यक सेवाहरू प्रवाह गर्छौ ।’
भदौ २३ र २४ गते को आन्दोलनको क्रममा आगजनी गरी कार्यालय ध्वस्त भएपछि तत्कालै वडाबाट गर्न सकिने अवस्था नरहेको नगरपालिकाले जनाएको छ ।