© २०२३
बुटवल, ४ असोज ।
देशमा राजनीतिक परिवर्तन ल्याउने गरी आन्दोलन सकिएकोे छ । ठूलो जनधनको क्षतिसंगै देश आर्थिक समस्यामा गुज्रिरहेको बेला रुपन्देहीमा भने ब्यापार मेलाको पालो कसले पाउने भन्ने विवाद चर्किएको छ । दुई व्यावसायिक संस्था रुपन्देही उद्योग संघ र उद्योग ब्यापार संघ बुटवलका बिचमा मेलाका विषयमा विवाद चर्किएको हो ।
आलोपालो आधारमा औद्योगिक प्रदर्शनी गर्दै आएको रुपन्देही उद्योग संघका पदाधिकारीहरुले शनिबार प्रदर्शनीस्थलमा बोर्ड स्थापना गरेसंगै विवाद चुलिएको हो । उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी आफूहरुले ६ महिनाअघि देखि तयारी गरिरहेको बेला अर्को संस्थाको दाबी गलत भएको बताए ।
‘हामीले चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी ६ महिनाबाट गरिरहेका थियौ’– उनले भने । मेला सञ्चालन गर्न केवल तीन संस्थालाई मात्र अनुमति दिने निर्णय गलत भएको टिप्पणी गर्दै आफूहरुको संस्थाले यसपटक मेला गर्नुपर्ने उनले दाबी गरे ।

उनका अनुसार संघले गत पुस २२ गते पत्रकार सम्मेलन गर्दै मेलाबारे सार्वजनिक घोषणा गरिसकेको छ । आवश्यक प्रक्रिया पालिकामा पूरा गरेर दुई हप्ता अघि नै मेलास्थलमा बोर्ड समेत राखिएको बेला अर्को संस्थाले दाबेदारी गर्नु अनुचित भएको पाण्डेको भनाइ छ ।
“यसपालि मेलाको पालो हाम्रो हो,” उनले भने । पाण्डेले तत्कालिन समयमा कोरोना महामारीको बेला पनि मेला आयोजना गरेको भन्दै यसपटक अघिल्लो ६ महिनाअघि पत्रकार सम्मेलनमार्फत तयारी सार्वजनिक गरेको स्मरण गरे । हालसम्म मेलाको करिब २०–३० प्रतिशत काम सकिएको र २५० भन्दा बढी स्टल दर्ता भइसकेको समेत जानकारी दिए ।
संघका पूर्व अध्यक्ष गोबिन्द गैरेले विगतमा दशैं–तिहार महोत्सव आयोजना गर्ने परम्परा स्मरण गर्दै बि.सं. २०७८ सालमा तत्कालीन नगरप्रमुख शिवराज सुवेदी र उपप्रमुख गुमादेवी आचार्यको रोहबरमा बसेको बैठकले चारै संस्थाबीच आलोपालो गर्ने निर्णय गरेको बताए । तर हाल त्यो निर्णय कार्यान्वयन नगरी विवाद उत्पन्न भएको उनको आरोप छ ।
संघका संस्थापक अध्यक्ष खेमनारायण पराजुलीले कान्छो संस्थालाई हेप्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वमा आफ्नो संस्थाले निरन्तर अग्रणी भूमिका खेल्दै आएको दाबी गरे । “हामीले गर्न नपाउने भने अरू संस्थाले पनि गर्न नपाओस्,” पराजुलीले भने ।
यता उद्योग संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्लेले भने २०७८ सालमा भएको सहमतिलाई तोडमोड गरिएको आरोप लगाए । उनका अनुसार त्यतिबेला राष्ट्रिय उद्योग व्यवसाय संघले देविनगरमा मेला आयोजना गर्दा संस्थाको वास्तविक परिचय लुकाएर स्वीकृति लिएको थियो ।
पछि नाम परिवर्तन गरी उद्योग व्यवसाय संघ राखिएको दाबी उनले गरे । केही संस्थाहरु मेलाको माग गर्ने र जिम्मा पाएपछि ठेक्कामा लगाउने समेत प्रवृत्ति रहेको उनी बताउछन । काफ्लेले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि आफूहरुको मेला गर्दै आएको बताए । सो संस्थाले पहिले फागुनमै गर्दै आएको तर विवादित रूपमा त्यसलाई पुस महिनामा सारिएको उनि बताए । अहिले फेरि सोही विषयलाई लिएर विवाद पुनः बल्झिएको उनले स्पष्ट पारे ।