© २०२३
नेपालगञ्ज, ४ असोज ।
केही दिनअघि जेनजी आन्दोलनका कारण सुनसान बनेको बाँकेको जमुनाह नाकामा अहिले फेरि चहलपहल बढेको छ ।
दसैँ नजिकिँदै जाँदा रोजगारीका लागि भारत गएका नेपालीहरू ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि नाकामा भीडभाड बढेको हो । पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतका ठूला सहरहरूमा मजदुरी गर्न गएकाहरू हुलका हुल स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीका अनुसार, चाडपर्व नजिकिएसँगै स्वदेश फर्किनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । “गत एक सातामै करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन्,” उनले भने ।
उनका अनुसार अहिले दैनिक करिब दुई हजार जति नेपाली जमुनाह नाकामार्फत नेपाल प्रवेश गर्दैछन् । जेनजी आन्दोलनका क्रममा केही दिन नाका बन्द भएपछि आवागमन रोकिएको थियो । तर, नाका पुनः खुलेसँगै भारतबाट फर्किनेहरूको भीड निरन्तर बढिरहेको प्रहरीको भनाइ छ ।
चाडपर्वका बेला स्वदेश फर्किने नेपालीको सहजताका लागि प्रहरीले आवागमन व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छ । रिक्सा, ई–रिक्सा, बस, हाइस र होटल व्यवसायीमार्फत वर्षेनि हुने ठगी वा लुटपाटलाई रोक्न प्रहरी सक्रिय रहेको निरीक्षक बुढाथोकीले जानकारी दिए ।
भारतको चण्डीगडबाट १३ जना साथीहरूसहित फर्किएका दैलेख डुंगेश्वर गाउँपालिका ६ का ५२ वर्षीय शेरबशादुर केसीले हालैको आन्दोलनले देश अस्थिर भएको भन्दै यस पटक छिट्टै फर्किएको बताए । “आफन्तसँग भेटघाट गर्दै गाउँमै दसैँ मनाउँदा बेग्लै रमाइलो हुन्छ,”, उनले भने ।
यस्तै, जाजरकोट शिवालय गाउँपालिका ४ का ४८ वर्षीय भिम बहादुर विकले यस पटक फर्किने योजना नभए पनि परिस्थितिले बाध्य पारेको बताए । “गाउँघरमै दसैँ मनाउँदा आत्मीयता हुन्छ, त्यसैले आएको हुँ,” उनले भने ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, स्वदेश फर्किने नेपालीको यो लहर दसैँ र तिहारसम्म अझै बढ्नेछ । चाडपर्व नजिकिँदै जाँदा भारतबाट फर्किनेको संख्या झन् धेरै हुने अनुमान गरिएको छ ।