© २०२३
नेपालगञ्ज, ४ असोज ।
जेन–जी आन्दोलनको आडमा सरकारी कार्यालय सामान लुटपाट गरेको आरोपमा नेपालगञ्जमा फेरि एकजनालाई पक्राउ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) दीपक पातलीका अनुसार आदिलले आन्दोलनको अवसर छोपेर नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट सोफा चोरी गरी लगेका थिए ।
सोफा चोरीको तथ्य फेला परेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यससँगै आन्दोलनकै क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जनालाई यस अघि नै पक्राउ गरिएको छ ।
प्रहरीले केही दिनअघि भने आगजनीमा संलग्न नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दिपक टमाटालाई पनि नियन्त्रणमा लिएको थियो । डिएसपी पातलीले भने — “आन्दोलनको आडमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूको पहिचान गर्न प्रहरी सक्रिय छ । हामी फोटो र भिडियो सामग्री हेरेर थप संलग्न व्यक्तिहरूको पहिचान गरिरहेका छौँ ।”
जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आन्दोलनको नाममा सार्वजनिक तथा व्यक्तिगत संरचनामा भएको हिंसा, आगजनी र लुटपाट गर्नेहरूलाई पक्राउ गर्न लिखित निर्देशन जारी गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते नै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिएको उल्लेख गरे ।
प्रजिअ जोशीले भने, “आन्दोलनको फाइदा उठाएर आगजनी, तोडफोड र लुटपाट गर्नेहरु हामीले कल्पना गरेका व्यक्तिहरू नभएका देखिन्छन् । राष्ट्रिय झण्डा बोकेर गर्दा पनि ती जेनजी (आन्दोलनकारी) नभएर आन्दोलनको आडमा अपराध गर्ने समूह हुन् ।
हाम्रो पहिलो काम ती संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनु हो ।” प्रहरी र प्रशासनले संयुक्त रूपमा फोटो–भिडियो परीक्षण र स्थानीय प्रत्यक्षदर्शीसँगको सोधपुछमार्फत थप अनुहार पहिचान गरी आवश्यक कारबाही अघि बढाइरहेका छन् ।