© २०२३
नेपालगञ्ज, ३ असोज ।
बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित माथेबास गाउँ अहिले डर र त्रासको छायाँमा छ ।
चार दिनअघि बाघको आक्रमणमा परी सोही गाउँपालिका ३ सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको ज्यान गएपछि यहाँको दैनिकी नै अस्तव्यस्त बनेको छ । आफन्तको घरबाट फर्किंदै गरेकी लक्ष्मीलाई जनमुखी सामुदायिक वनभित्रै बाघले आक्रमण गरेको थियो ।
उनको शव वनभित्र क्षतविक्षत अवस्थामा भेटिएको खबरले गाउँभरि शोक र भय एकैसाथ फैलियो । त्यसयता, माथेबास–खोरियादेखि कचनापुरका पाखा–पखेरा सुनसान छन् । “दिउँसो पनि घरको ढोका बन्द गरेर बस्छन् सबै । घाँसदाउरा लिन जंगल जान त टाढाको कुरा भयो,” स्थानीय भूपेन्द्र वली भन्छन्, “गाउँको जीवनशैली नै बदलिएको छ ।”
यसअघि बेलुकीपख गाउँमा चहलपहल हुन्थ्यो, मान्छेहरू भेला भएर गफगाफ गर्थे, बालबालिका खेल्थे । तर अहिले समसाँझै गाउँमा एक प्रकारको डरिलो शान्ति देखिन्छ । सडक सुनसान हुन्छ, ढोका र झ्यालहरू भित्रैबाट बन्द हुन्छन् ।
स्थानीय अनिता थारु भन्छिन्, “बाघको डरले कतिपय परिवारले पालैपालो जाग्राम बस्छन् । लौरो, टर्च लिएर रातभर समूहमा हल्ला गर्दै बस्छन् । तर पनि मनमा डर पन्छिएको छैन ।” बाघको आक्रमणपछि गाउँलेको जीवन असुरक्षित मात्र होइन, मनोबल समेत कमजोर भएको छ ।
दसैं नजिकिँदै गर्दा सामान्य जीवनमा फर्कन उनीहरू आतुर छन्, तर वन्यजन्तुको यस त्रासदीले गाउँलाई निरन्तर दबाइरहेको छ । माथेबास गोबारपुर सडकखण्डमा त मानिसहरु दिउँसो पनि एक्लै हिँड्न छाडिसकेका छन् ।
राप्ती सोनारी २ खोरीयाका स्थानीय खुशीराम थारुले भने, ‘‘म सँथै सिक्टा नहर छेउहुँदै जंगलकोबाटो भएर एक्लै कामको लागि अगैया जाने गर्दथेँ, तर, अहिले बाघको डरले साथिहरुसँग समूहमा मात्र जाने गरेको छु । ’’ उनका अनुसार यसअघि पनि बाघ, चितुवा र जंगली जनावरका आक्रमणले स्थानीयलाई पटक–पटक त्रासमा पारेको छ ।
बाघले लक्ष्मी चौधरीको ज्यान लिनु अघि दुई दिन लगातार माथेबास र खोरियाका स्थानीयहरुको खोरबाट बाखा तानेर खाईदिएको खशीरामले बताए । उनले भने, ‘‘घरपालुवा जनावरलाई खाँदा सम्म त्यति डर थिएन, अहिले सँधै हिँड्ने बाटोमा मान्छेलाई नै आक्रमण गरेर बाघले खाँदा गाउँमा त्रास फैलिएको छ ।’’
राप्ती सोनारी ३ का वडाध्यक्ष मीनकुमार चौधरीले यो समस्या पहिलो नभएको प्रष्ट पारे । “निकुञ्जसँग बाघ नियन्त्रणका लागि अनुरोध गरेका छौं,” उनले भने, “तर तत्काल समाधान नहुँदा गाउँ अझै त्रासमा बाँचिरहेको छ ।” बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको राप्ती सोनारी २ कचनापुर, खोरिया र माथेवास क्षेत्र बाघ, चितुवा र जंगली बँदेलको आवागमन हुने नजिकैको बस्ती हो । आहाराको खोजीमा नजिकै आउने बाघ गाउँमै पस्ने गरेको स्थानीय बताउँछन् ।