© २०२३
वर्तमानमा आजका मितिसम्म पनि जो कोही व्यक्ति कुनै पनि पार्टीमा लाग्नु संविधान प्रदत्त अधिकार छ । त्यसैले पनि आफूलाई राम्रो लागेको पार्टीको समर्थक हुनुलाई गलत भन्न सकिने अवस्था अहिलेसम्मलाई छैन
। तर, यसो हुनुको अवस्था भनेको आफू चेतना शून्य भएर आफ्नाले जे गरे पनि अन्ध समर्थक भएर मालिकहरूकै जनविरोधी योजनाका झोला बोक्दै झोले हुनु भनेको पक्कै थिएन । तर समाजमा आफूलाई प्राज्ञिक र बुद्धिजीवी भन्न रुचाउने एउटा वर्ग पनि आफूलाई यस्तै गराइरहेको थियो ।
मैले वर्तमान सरकार भरखर गठन भई जनप्यारा कुलमान घिसिङलाई हटाउँदाको परिणामले जब विद्युत् फ्याट् फ्याट् जान लाग्यो अनि केही विरोधका कुराहरू फेसबुकमार्फत् लेख्दा कल्पना नै नगरिएका केही बुद्धिजीवीहरूले सरकारको प्रतिरक्षाका लागि मलाई गतिलै शब्दले स्वागत गर्नुभएको थियो ।
तर, केही पहिलेको सरकारमा राम्रै पद प्राप्त गर्नुभएका उहाँ निवर्तमान सरकारमा पदविहीन हुँदा भने जल्दाबल्दा स्ट्याटसले बाको विरोध गर्नुभएको थियो । अझ निवर्तमानको आन्दोलनपछि त भन्नै परेन ।
त्यस्तै मैले केही समयअघि बा ! बालेनको लेन खै ? भन्ने शीर्षकले बुटवल टुडे पत्रिकामार्फत् बाको ध्यानाकर्षण गर्दा अर्का वरिष्ठ बुद्धिजीवीले मलाई भन्न नसकेर पिताजीमार्फत् बालाई केही नभन्नका लागि सन्देश पठाउनु भएको थियो । खान पाउँदा जसको पनि प्रशंसा गर्ने, अनि खान नपाउँदा चाहिँ आफ्नै बाउहरूलाई पनि विरोध गर्ने नेपालका बुद्धिजीवीहरूका समस्या यस्तै खालका रहेका छन् ।
अव प्रसङ्ग अनुसार नै कुरा गरौँ । देशमा अराजकको स्थिति २०५२ देखि नै सुरु भयो । माओवादीको आन्दोलनले देशलाई तिसौँ वर्ष पछाडि धकेल्यो । गाउँ रित्तिएर मानिस शहर पसे । केही विदेश पलायन पनि भए । २०६२–६३ को आन्दोलन भएर देश अर्कै राज्य प्रणालीमा प्रवेश गरिसकेपछि पनि देशमा सुशासन आउन सकेन ।
यसले गर्दा पनि रोजीरोटीका लागि विदेश पलायन हुने क्रम झनै बढ्यो । जब संविधान बनेपछि पनि देशको अवस्थामा सुधार आउन नसकेपछि यहाँबाट रोजीरोटीका लागि मात्र नभएर सधैँभरीलाई नै देश छोड्नेहरूको क्रममा ह्वात्तै बृद्धि भयो । यसको प्रमुख कारण संविधान आएपछि देश स्वर्गसरी बन्ला भन्दा झनै नर्कसरी बन्नु नै हो ।
यस्तो हुँदापनि अलि हिम्मत गरेर बोल्ने मानिसहरूको बहुमत हुन सकेको थिएन । गत चुनावमा केही बालेन, गोपी जस्ता व्यक्तिहरूले केही आशाको किरण ल्याएपनि उनीहरूलाई पनि वर्तमान संविधानको प्रणालीले काम गर्न नदिएपछि जनआक्रोश झनै बढिरहेको थियो ।
यस्तैमा जब सरकारले केही दिनदेखि अब प्रत्येक नेपालीलाई लतकै रूपमा लगिसकेको सामाजिक सञ्जाल चलाउनबाट रोक्न थाल्यो, अनि युवाहरू जाग्न थाले । यसरी जाग्ने युवाहरू जेन–जीका बढी रहे ।
हुन त उनीहरूलाई वर्तमानका नाइकेहरूले तिमीहरूले राजाको निरंकुश शासन नै देखेनौँ भन्ने खालले अपमानित भाषा बोल्दै आफ्नो कुर्सी बचाउने प्रयासमा पनि थिए । तर युवा यसरी जागे कि एकै झड्कामा के के भयो भयो । केही दिन अघिको घटनाले हामी सबैलाई विपना की सपनाको अनुभूति भइरहेको छ ।
युवाहरू यसरी जाग्दैछन् भन्ने थाहा पाएरै सायद सरकारले यस किसिमको रोकावट गरेको रहेछ कि भन्ने अनुमान पनि अहिले हुन थालेको त छ । तर जे भएपनि विशेषगरेर युवाहरूले गरेको प्रदर्शनमा घुसपैठीहरूबाट भएका अराजक कामलाई त्यत्रो ठूलो हुरी पछिको सामान्य क्षति भन्ने नै लाग्यो ।
तर पनि सिंहदरबार र सर्वोच्च जल्दा चाहिँ केही नराम्ररी झस्कियो पनि । त्यहाँ उनीहरूले कुनै व्यक्तिमाथि प्रहार गरेका पनि थिएनन् । कुनै प्रहरी सुरक्षाकर्मीलाई मारेका पनि थिएनन् । तर, विशेषगरेर अब कसको आदेशले प्रहरीले त्यस किसिमको गलत काम गर्यो, त्यो कालान्तरमा आउला नै तर पनि अति जघन्य अपराध गर्यो ।
यसका कारणले विशेषगरेर जसलेपनि सरकारलाई औँलो सोज्याउनुलाई गलत मान्न सकिन्न । यदि सरकारले जनमुखी काम गरेको र यस किसिमका घटना भएका भए जनता यतिविघ्न आन्दोलनमा उत्रने थिएनन् ।
तर, सरकार दिन प्रतिदिन जनविरोधी काम गर्दै हिँड्ने, देशलाई अनावश्यक टुक्राउँदा आएका समस्याको हल नगर्ने, स्थायी सरकार बनाउनका लागि संविधानमा के के परिवर्तन गर्न सकिन्छ भन्ने बहस नै नगर्ने, पालिकाहरूमा भइरहेको व्यापक भ्रष्टाचार निराकरणका लागि चिन्तन नै नगर्ने, अनि जनताहरूले पनि कति पो खप्न सक्थे र ?
साह्रै अकल्पनीय र दर्दनात्मक घटना नेपालको इतिहासमा यसरी घटेको पनि थिएन । यो देशमा १७ हजार जनताको होली पनि खेलिएको त थियो तर यसरी सामान्य आन्दोलनमैँ स्कूलको ड्रेस लगाएका निहत्था विद्यार्थीहरूलाई ताकीताकी मार्नु अत्यन्तै नौलो घटना भयो । त्यसैले यी वर्तमानमा घटेका घटनाले अब देशलाई दिशाबोध त पक्कै गराउला भन्ने आशमा आम नेपालीहरू बसेका छन् ।
देशमा अकल्पनीय हृदयविदारक घटना त घट्यो । तर, यसपछिका प्रतिक्रिया हेर्दा उही गीतको याद आउँछ – लाज लागे निर मुख छोप गम्छाले । यस्तै खालको विधि नियम ल्याउने काममा जसले सहयोग पु¥यायो, जो त्यसैको साक्षी बन्यो, कुनै पनि बेला संविधान यस्तो हुनुपर्दछ भनेर समेत बोल्न सकेन, अनि तिनै पार्टीमा बसेर जो भ्रष्टाचारको समर्थक भयो, उसैले अहिले आफू चाहिँ एकदमै सज्जन भन्ने खालको विज्ञप्ति पो निकाली रहेको छ ।
केही समय अगाडि यही सरकारले दिएको नियुक्ति मार्फत् काम गर्यो, बाहरूलाई धृतराष्ट्र बनाउनमा प्रमुख भूमिका निर्वाह गर्यो, बालाई बालेन र हर्कसँग मिल्न नदिएर दुर्योधनको भूमिकामा बस्यो, प्रत्येका पार्टीका त्यस्तै समूहले अहिले फेरि तिनै बाहरूलाई गाली गरेर आफू चाहिँ चोखिने प्रयास गरिरहेको छ ।
त्यो बाहरूलाई गाली गर्ने समूहले राष्ट्रको धर्म संस्कार मासेर आएको संविधानको विरोध त कता हो कता, विरोध गर्नेहरूलाई समेत अनेक आरोप लगाएर आफूलाई पराज्ञाको अन्ध प्राज्ञिक बनायो । उसैले पो तिनै आँखामा पट्टि बाँधिएका बाहरूको विरोध गरेर अझ ठूला ठूला कुरा गर्दछन् ।
अनि पार्टीमा लागेर अहिलेसम्म लुट्नु लुट्यो, अब हेर भाई निको चाल छैन भनेपछि फेरि आफूलाई स्वतन्त्र भएको नाटक ग¥यो, त्यसैले नै बाहरू विरुद्ध बोलेर आफूलाई चोखो तुल्याउन खोजिरहेको छ । त्यस किसिमका झोलेहरूले वर्तमानका घटनापछि आएका विषयप्रति बोल्ने अधिकार कत्तिपनि छैन ।
बरु नेपाली जनताको हार्दिक आग्रह के छ भने तिमीलाई हिँजो झोले हुँदा जसले खुवायो, पिलायो, आज उसैका विरुद्ध कृतघ्न बन्ने प्रयास नगर । तिमी अब जतिसुकै आफूलाई चोख्याउन खोजेपनि तिमीलाई सबैले झोले भनेरै चिनेका छन् । त्यसैले बरु यस्तो अप्ठ्यारो अवस्थामा आफूलाई गरेकाहरूलाई धोका नदेऊ । यसैमा तिम्रो कल्याण छ ।
तिम्रा ख्वामितलाई जनताले जे न्याय दिन्छन् तिमीपनि त्यसकै भागिदार बन्नैपर्दछ किनकि ख्वामित् विगार्ने कामपनि तिमीहरूले नै गरेका हौ । अब तिम्रा बाउहरूलाई तिमीहरूले गाली गर्दैमा तिमीहरू नेपाली जनताको अगाडि चोख्खिन सक्दै सक्दैनौँ ।
हालको अवस्थामा पुरानो सरकार विदा भएर नयाँ चुनावी सरकार पनि आएको छ । अब गएका कुरा गए तर हामी नेपाली जनताले पनि सौताका रिसले पोइका काखमा के गर्नेभने जस्तो काम अब गर्नुहुँदैन ।
राष्ट्रपति पनि यही संविधान र संस्कारका माध्यमले बन्नुभएको भएतापनि उहाँको इच्छा भन्दापनि आन्दोलन मार्फत् आएका केही नयाँहरूको दबाबमा नयाँ सरकार गठन गर्नुभएको हो ।
अधिकांश कर्मचारी पनि देशमा भ्रष्टाचार गर्न सिकाउने मध्ये नै पर्दछन् । अनुसन्धानको घेरामा उनीहरू पनि नेताभन्दा केही कम नै छैनन् । त्यसैले अब आउने चुनावपछिको नेतृत्व भनेको स्वधर्म, स्वसंस्कार र स्वसंस्कृतिसहित देश प्रेम भएको, शरीर एवम् मष्तिष्कका हिसाबले पनि युवा रहेको हुनुपर्दछ ।
त्यस किसिमको राष्ट्रप्रेमीको नेतृत्वमा सरकारको गठन भई देशलाई यो अवस्थामा ल्याएको कारणको पहिचान गर्दै तिनमा व्यापक हेरफेर, संशोधन र अप्रेसन गरेर अगाडि बढ्नुपर्ने देखिएको छ ।
यो चुनावी सरकारले चुनावमात्र गराउने भएकाले नेपाली जनताले कार्यकारी प्रमुख चुन्ने, विधि नियम बनाउने, धर्म निरपेक्षता खारेज गर्ने, प्रदेश खारेज गर्ने, गाउँपालिकालाई जिल्लाका रूपमा विकसित गर्ने खालको अनावश्यक चिराईलाई खारेज गरी नयाँ ढङ्गका पालिकाहरूको निर्माण गर्ने, विदेशमा बसेका नेपाली दाजुभाइहरूलाई पनि नेपालीकै रूपमा व्यवहार गर्ने खालको कानुन बनाउने, थोरै सांसद बनाउने आदि विग्रिएका कुरा सपार्ने नेताहरूलाई संसदमा पठाउने खालले चुनावमा लाग्नुपर्ने अवस्था आएको छ । जय युवाशक्ति !