Butwal Today

विष्णु पौडेल ठान्दै भीडले आक्रमण गर्‍यो

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३ असोज ।

२३ भदौको जेएनजी प्रदर्शनमा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि तत्कालीन रातिदेखि नै रगतको अभाव देखिएको थियो ।

त्यसै दिन राति १० बजेदेखि नै ग्रिन सिटी अस्पताललाई करिब ४०० युनिट रगत आवश्यक भएको भन्दै फोन आइरहेको ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले  बताए ।

उनका अनुसार भोलिपल्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म अस्पताल अगाडि आयोजित रक्तदान कार्यक्रममा २१८ युनिट रगत संकलन भएको थियो । अस्पतालले गोली लागेका घाइतेको निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको थियो ।

२४ भदौमा गोली लागेका एक युवकलाई तत्काल अपरेसन गर्नुपर्ने भएपछि त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो ।

बिरामी छोडेर फर्कँदा दिउँसो करिब २ बजेतिर महाराजगञ्ज चक्रपथ चोकमा भिडले एम्बुलेन्स रोकेर तोडफोड गरेको अध्यक्षले बताए । “त्यस क्रममा मलाई पनि नेता भनेर गलत बुझेर हातपात गर्न खोजियो । तर केही युवाले सुरक्षा दिएका कारण म जोगिन सफल भएँ,” उनले भने ।

हमलामा एम्बुलेन्सको सिसा फुटेको र गाडी अहिले पनि बिग्रिएको उनले बताए । आफूमाथि भएको आक्रमण जेएनजी प्रदर्शनकारीले नभई घुसपैठियाले गरेको दाबी अध्यक्षले गरे । “सामान्य चोटपटक परे पनि ठूलो दुर्घटना हुन पाएन ।

अहिले उपचारपछि सामान्य अवस्थामा छु । घाइतेहरूको निःशुल्क उपचार निरन्तर गर्दै आएका छौँ,” उनले स्पष्ट पारे ।