© २०२३
काठमान्डौ, ३ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको नेतृत्वमा भएको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतनाको उचाइ र मुलुकमा फैलिएको भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा आज राजधानीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको मर्मअनुरूप सुशासन, समृद्धि र विकासका क्षेत्रमा देखिएका कमी कमजोरी तथा त्यसबाट उत्पन्न असन्तोषका कारण यो आन्दोलन जन्मिएको स्पष्ट पारिन् ।
उनका अनुसार जेनजी पुस्ताले उठाएका मुद्दा— रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास— केवल युवा पुस्ताका मात्र नभई सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन् ।
प्रधानमन्त्री कार्कीले सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका, कानुनी शासन र सुशासनमा अपेक्षित उपलब्धि हासिल गर्न नसक्नु पनि आन्दोलनको कारण भएको उल्लेख गरिन् ।
यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।