© २०२३
काठमाडौं, ३ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई सम्झँदै आफू पनि १७ वर्षमै राजनीतिमा होमिएको स्मरण गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, “हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ भन्ने दृढ विश्वास छ । म पनि २०१७ सालमा १७ वर्षको उमेरमै प्रजातन्त्रका लागि राजनीतिमा लागेको थिएँ ।”
राष्ट्रपति पौडेलले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गर्दै हालको अप्ठ्यारो परिस्थितिबाट बाहिरिन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने, “भदौ २४ पछि उत्पन्न राजनीतिक रिक्तता र अप्ठ्यारो परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ । तर, सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज अवस्थालाई सम्हाल्न सफल भएका छौँ ।”
उनले लोकतन्त्र र संविधानको भावना अनुरूप काम गर्न सबै राजनीतिक पक्षलाई आग्रह गरे । चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेनजी आन्दोलनका प्रतिनिधिहरू पनि सहभागी थिए ।