© २०२३
काठमाडौँ ।
सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवन आउँदो पुसभित्रै सम्पन्न हुने भएको छ । अहिलेसम्म भवनको ८६ प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी कार्य पुसभित्र सक्ने गरी सरकारले तीव्रता दिन निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आगामी फागुन २१ मा हुने आमनिर्वाचनपछि बन्ने प्रतिनिधिसभा बैठक नयाँ भवनबाटै सुरु गर्ने उद्देश्यसहित यस्तो निर्देशन दिएका हुन् ।
उनले सहरी विकास सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालयका अधिकारी, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग शुक्रबार छलफल गरेका थिए ।
सिंहदरबारमा संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद भवनको रूपमा भाडामा प्रयोग गर्दै आएको थियो । तर, पछिल्लो आन्दोलनमा उक्त भवन तोडफोड र आगजनीको सिकार भएकोले हाल संसद भवन छैन ।
मन्त्री घिसिङले भने, “जेनजी आन्दोलन क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुगेकोले यो संवेदनशील आयोजना हो । ढिला गर्नुहुँदैन । सबै पक्षले पूर्ण रूपमा परिचालित भएर समय अगावै काम सम्पन्न गर्नुपर्छ ।”
सिंहदरबारको पुतली बगैंचामा १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघीय संसद भवनको लागत ६ अर्ब रुपैयाँभन्दा बढी छ । भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक निर्माण भइरहेको छ ।
ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो । २०७६ असोजमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल पाँचौंपटक म्याद थपिएको ठेक्का सम्झौताअनुसार पुसमा सम्पन्न हुनेछ ।
आयोजनाले भौतिक प्रगति ८६ प्रतिशत पुगेको जानकारी दिएको छ ।