© २०२३
काठमाडौँ ।
जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार जानकारी दिएका हुन् ।
विश्वकर्माले भने, “सुरुमा हामी अतालिएका थियौँ । उहाँहरू (देउवा र आरजु देउवा) अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको थियो र त्यहाँ १२ वटा टाँका लगाइएको छ । उपचारपछि उहाँ निको हुँदै हुनुहुन्छ ।”
उनका अनुसार चिकित्सकले उक्त चोट धारिलो हतियार प्रहारबाट लागेको बताएका छन् । तर, कसले र कुन हतियारले प्रहार गरेको भन्ने तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन ।
भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीहरूले देउवाको निवासमा आगजनी र तोडफोड गरेका थिए । सो क्रममा देउवा दम्पत्तीमाथि हातपात भएको थियो र उनीहरूको शरीर रगताम्ये भएको थियो ।
कांग्रेसले देउवा दम्पत्तीमाथिको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । विश्वकर्माले भने, “लोकतन्त्रका लागि अविचलिन योगदान गर्नु भएको पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति हामी कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ ।”