© २०२३
समाचार सारांशमा
गुल्मी, सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै अल्लो (लेकाली सिस्नो) बाट कपडा बनाउने लघु उद्यम सञ्चालन गरेका छन् ।
अल्लोबाट टोपी, गलबन्दी, कोट, सल, मजा, पर्स आदि सामग्रीहरू बनाइन्छ ।
पहिले खेर जाने सिस्नोलाई अहिले उपयोगमा ल्याइएको छ ।
गुल्मी, ०३ असोज ।
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै लघु उद्यम सञ्चालन गरेका छन् । त्यही उद्यमबाट महिलाहरूले राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरूले गाउँघरमा त्यत्तिकै खेर गईरहेका अल्लो (लेकाली सिस्नो) लाई प्रशोधन गरेर त्यसबाट कपडाहरू बनाउने गर्दछन् ।
घरधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरूले घरमै बसेर अल्लोका सामग्रीहरू बुनेर जीविकोपार्जन गर्न थालेका हुन् ।
सत्यवती गाउँपालिका–८ स्थित भार्से गाउँमा जनजातिहरूको सिङ्गो बस्ती छ ।
उक्त बस्ती प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक परम्परा बोकेको सुन्दर ठाउँ हो । रैथाने खाद्यवालीहरू उत्पादन गर्दै आएको त्यहाँका महिलाहरू पछिल्लो समयमा उद्यमशीलतासँग जोडिन थालेका छन् ।
पहाडी जिल्लामा अल्लो अर्थात् लेकाली सिस्नुको कपडा बनाउने चलन पुरानै मानिन्छ । तर चलन पुरानै भए पनि भनी गुल्मी जिल्लामा भने यसरी व्यावसायिक रूपमा लघु उद्यम सञ्चालन गर्न लागेको भने थोरै समय भएको छ ।
ग्रामीण क्षेत्रमा यत्तिकै सडेर खेर गइरहेको लेकाली सिस्नोलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सत्यवती गाउँपालिकाले पनि अल्लोका कपडा बुन्नका लागि त्यहाँका महिलाहरूलाई उत्प्रेरित गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि त्यहाँका महिलाहरू पनि व्यावसायिक रूपमा अल्लोका कपडा बनाउनेतर्फ रुचि देखाएका हुन ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको सहयोगमा लघु उद्यमका लागि साझा सुविधा केन्द्रको भवन निर्माण गरिएको छ । उक्त भवनमा यति बेला गाउँका कतिपय महिलाहरू त्यही साझा सुविधा केन्द्रमा जम्मा भएर काम सिक्न थालेका छन् ।
गत आठ वर्षदेखि सञ्चालनमा आएको सुविधा केन्द्रमा यति बेला स्थानीय महिलाहरू अल्लोको धागोबाट टोपी, गलबन्दी, कोट, सल, मजा, पर्स लगायतका सामग्रीहरू बनाउने गर्दछन् । अल्लोबाट उत्पादन हुने सामग्रीहरू नरम र धेरै टिकाउ हुन्छन् ।
ग्रामीण क्षेत्रका स–साना बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म यसको माग धेरै हुने भएका कारण यसले स्थानीयहरूको जीविकोपार्जनमा थप सहयोग पुराउँदै आएको सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउँछन् ।
अध्यक्ष पाण्डेले उद्यम सञ्चालनका लागि गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीबाट समय समयमा तालिम उपलब्ध गराउनुका साथै त्यसका लागि आवश्यक सामग्रीहरू समेत सहयोग गरेको पाण्डेले बताए ।
नयाँ पुस्ताका युवायुवतीहरूलाई यो पेसामा खासै चासो छैन । तर पुराना पुस्ताहरूले अल्लोको व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । अल्लोको कपडाको माग बढी भएका कारण बिक्रीका लागि बजारको कुनै समस्या नभएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताएकी छन् ।
नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि पालिकाले वडा नं ३ को लुम्पेकमा तालिम समेत उपलब्ध गराइसकेको उपाध्यक्ष तरामुले बताएकी छन् । सत्यवतीमा अल्लोको प्रचुर सम्भावना भएको कारण त्यहाँका महिलाहरू कृषि कर्मसँगै फुर्सदको समयमा उद्यम सिकेर अल्लोका सामग्रीहरूबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
अल्लोको कपडा तयार पार्नको लागि सुरुमा सिस्नोको बोट काटेर यसको छालाको बाहिरी भाग निकाल्ने र यसलाई राम्रोसँग सफा गर्नुपर्दछ । त्यसपछि पानीमा खरानी राखेर उमाल्ने र उमालेपछि त्यसलाई धोएर घाममा सुकाउने गरिन्छ ।
यसरी सुकाइसकेपछि त्यसलाई हात वा चर्खाको माध्यमबाट धागो काटेर कपडा बुन्ने गरिएको स्थानीय नरबहादुर बुढाथोकीले बताएका छन् ।
अल्लोलाई बनाउने प्रक्रिया र मेहनत लामो भए पनि यसबाट बन्ने कपडा राम्रा र टिकाउ हुने गर्दछन् ।
अल्लोका कपडाहरू विशेष गरी पहाडी क्षेत्रमा बसोबास गर्ने समुदायहरूको मुख्य पहिचानका रूपमा चिनिन्छ । अल्लो खेतीले ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्नुका साथै उनीहरूलाई आर्थिक अवस्थालाई सशक्त बनाउन सहयोग पुराउने सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।
अल्लोलाई गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्लाहरूमा चाल्लने सिस्नोको नामबाट समेत चिन्ने गरिन्छ ।