© २०२३
काठमान्डौ, ३ असोज ।
जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजारमा आएको ठूलो गिरावटपछि सरकारले पुँजीबजारको स्थिति मूल्याङ्कन गर्न तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुँयाल, तथा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिव रहनेछन् ।
कार्यदलले पुँजी बजारमा देखिएका असन्तुलन र समस्याहरूको गहन अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल बढाउन आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका उपायहरू सिफारिस गर्नेछ । अध्ययनपछि उनीहरूले सुझाव र ठोस कार्यान्वयन योजनासहित प्रतिवेदन पेस गर्नेछन् । कार्यदललाई यो काम पूरा गर्न पाँच दिनको समय दिइएको छ ।
जेनजी प्रदर्शनपछि खुलेको बजारमा नेप्से सूचकांक १६० अंकले घटेको थियो । लगानीकर्ताको आत्मविश्वास कमजोर भएको भन्दै उनीहरूले बजारमा सुधारका लागि नीतिगत कदम चाल्न सरकारसँग माग गर्दै आएका थिए । अर्थ मन्त्रालयले पनि लगानीकर्ताको भरोसा पुनर्स्थापना गर्न कार्यदल गठन गरेको हो ।
