© २०२३
देव दह, ३ असोज ।
देव दह सेवा समाज युएईले रुपन्देहीको देव दह–८ वनकित्ता निवासी २ बर्षीया बालिका भावना न्यौपानेलाई उपचार खर्च बापत १ लाख १ सय ११ रुपैयाँ प्रदान गरेको छ । युएईमा रहेका देवदहवासीहरूको उक्त संस्थाले ३७ जना सदस्यहरूबाट सङ्कलन गरेको सो रकम बिहीबार परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो ।
समाजका सदस्य गीता खरेल, राधा अधिकारी, वडा नं. ८ का अध्यक्ष हरि पाण्डे, देव दह खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष गुमानसिंह कुँवर लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको सल्लाहकार श्याम न्यौपानेले जानकारी दिए ।
भावनालाई जन्मँदैको अवस्थामा स्वास्थ्यमा समस्या देखिएको र उपचारमा सहयोग होस् भन्ने हेतुले सहयोग रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
‘भावनालाई दुर्लभ स्वास्थ्य समस्या देखिएको भन्ने परिवारबाट जानकारी आयो र उनलाई उपचारका लागि भारत लैजानुपर्ने परिवारले जनाएपछि हामीले समाजका सदस्यहरूसँग थोरै सहयोग रकम सङ्कलन गरेर हस्तान्तरण गरेका हौँ ।’ उनले भने, ‘बालिकाको उपचारको लागि करिब ४० लाख रूपैंया खर्च हुने जानकारी आएको हुँदा त्यसको लागि समाजले थप आर्थिक सहयोगको लागि सबैसँग अपिल गर्दछौँ ।’
बालिकाकी आमा नम्रता पाण्डेले यो समस्याको समाधान बोन म्यारो ट्रान्सप्लान्ट भएको हुनाले उपचार खर्च धेरै लाग्ने र आफूहरूसँग उक्त रकम नभएको हुँदा आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । बालिकाका बाबु वैदेशिक रोजगारीको क्रममा हाल युएई रहेका छन् ।