© २०२३
लमही , ३ असोज ।
जेन–जी आन्दोलनका क्रममा दाङमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान र खोजीलाई तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका क्रममा खिचिएका फोटो, भिडियो र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा सहभागी तथा उक्साउनेहरूको सूची तयार भइरहेको छ । अनुसन्धान जारी रहेकाले केही जानकारी गोप्य राखिएको उल्लेख गर्दै उनले चोरी गरिएका सामग्री फिर्ता ल्याउने उद्देश्यले फेला परेकाहरूलाई तीन पुस्ते विवरण सङ्कलन गरेर छोड्ने योजना समेत अघि बढाइएको बताए ।
प्रहरीले सर्वसाधारणलाई घटनाबारे सूचना दिन आग्रह गरेको छ । “हामीले सार्वजनिक सूचना जारी गरेरै संलग्नको फोटो, भिडियो वा प्रत्यक्षदर्शी विवरण उपलब्ध गराउन आग्रह गरेका छौँ,” उनले भने । तर अहिलेसम्म कुनै औपचारिक उजुरी दर्ता नभएको प्रहरीको भनाइ छ ।
आन्दोलनका क्रममा हराएका वा चोरी गरिएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, टिभीलगायतका सामग्री अवैध रूपमा बिक्री हुन सक्ने आशंकामा प्रहरीले व्यवसायी र सर्वसाधारणलाई बिलविजक नभएका सामान खरिद नगर्न चेतावनी दिएको छ । चोरीका सामग्री बिक्री हुने स्थानको सूक्ष्म निगरानी भइरहेको समेत प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
उजुरी नपर्नु र संलग्नको पहिचानमा समय लागिरहेको कारण तत्काल कारबाहीमा चुनौती भएको प्रहरीको भनाइ छ । तर अनुसन्धानलाई अझ कडाइका साथ अघि बढाइएको दाबी गरिएको छ । आन्दोलनको क्रममा दाङमा २२ वटा सरकारी कार्यालय ,डेढ सय सवारी साधन र डेढ दर्जन निजी भवनमा क्षती पुगेको छ । केही कार्यालय त्रीपालवाट सेवा दिन थालेका छन भने केही समय लाग्ने बताएका छन ।